काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी नागरिकता विधेयक प्रमाणीकरण गर्ने नगर्नेबारे कुनै निर्णय गरिसकेकी छैनन् । संवैधानिक व्यवस्था अनुसार आज नागरिकता विधेयक प्रमाणीकरण गर्नैपर्ने अन्तिम दिन हो ।
मंगलबार राति १० बजेसम्म राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने नगर्नेबारे कुनै निर्णय गरिसकेकी छैनन् ।
राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपतिसँग अझै दुई घण्टा बाँकी रहेकाले अहिले केही भन्न नसकिने बताए ।
नागरिकता विधेयक दोस्रोपटक संसद्का दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको आज १५ दिन पुगेको छ । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले आज राति १२ बजेसम्म विधेयक प्रमाणीकरण गर्नैपर्ने हुन्छ । तर, राष्ट्रपतिको कार्यालयबाट अहिलेसम्म यसबारे कुनै जानकारी आएको छैन ।
संविधानले एक पटक फिर्ता पठाएर पुनः प्रमाणीकरणका लागि पठाएको विधेयक अस्वीकृत गर्ने अधिकार राष्ट्रपतिलाई दिएको छैन । संविधानको धारा ११३ (३)ले राष्ट्रपतिलाई अर्थ विधेयकबाहेकका विधेयक पुनर्विचारका लागि सन्देशसहित पठाउने अधिकार दिएको छ । तर, धारा ११३ (४)ले त्यसरी फिर्ता पठाएको विधेयक परिमार्जनसहित वा उस्तै रूपमा संसद्ले पारित गरेर पठाएपछि दोस्रोपटक राष्ट्रपतिलाई रोक्न पाउने छुट दिएको छैन ।
नागरिकता विधेयक दोस्रोपटक दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि २० भदौमा राष्ट्रपतिकहाँ पठाइएको थियो ।