सेक्सोफोनवादक सुभबहादुर सुनामको निधन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सेक्सोफोनवादक सुभबहादुर सुनामको निधन


३ आश्विन २०७९, सोमबार


काठमाडौँ । सेक्सोफोनवादक सुभबहादुर सुनामको ७४ वर्षको उमेरमा निधन भएको छ ।

बिहान ४:४५ बजे आर्मी अस्पतालमा उनको निधन भएको पार्श्व संगीतकार एलिस कार्कीले बताए । कार्की उनका नाती पनि हुन् । सुनाम एक वर्षयता ‍मिर्गौलाको समस्याबाट ग्रस्त थिए । पूर्वजर्नेल समेत रहेका सुनामका सन्तानमा दुई छोरा र एक छोरी छन् ।

सुनामले ‘रेलिमाई रेलिमाई, ‘फूलै फूलको मौसम तिमीलाई’, ‘हुँ यात्री एउटा’, ‘तिमीले भनेका सारा देव छोएर’, ‘शुभ सम्भु’, ‘आसाको तार’ लगायतका थुप्रै चर्चित गीतहरुमा संगीत भरेका थिए । पाकिस्तानी गजल गायक गुलाम अलीले गाएका ‘लोलाएका आँखा’ मा पनि उनले नै संगीत भरेका थिए ।

१४ वर्षको उमेरदेखि नै उनले सेक्सोफोन बजाउन थालेका थिए । त्यही उमेरदेखि नै उनी सेनामा प्रवेश गरेका थिए । गुलाम अलीको ‘के छ र दिउँ तिमीलाई कोसेली भनेर’बोलको गीतमा उनले सेक्सोफोन बजाएका थिए ।

उक्त गीतमा आफूले बजाएको सेक्सोफोन धुन मनपर्ने गरेको उनले अन्तवार्ताहरुमा बताउँदै आएका थिए । ४ वर्ष भारतको सैनिक कलेजमा उनले संगीत पढेका थिए । ‘सेक्सोफोन मेरो चिनारी हो,’ सुनाम भन्ने गर्थे । दीपेन्द्र वीरविक्रम शाह उनका चेला समेत थिए । चाँदनी शाहले लेखेको ‘एउटा मान्छेको मायाले’ बोलको गीतमा उनले सेक्सोफोन बजाएका थिए । सैनिकबाट अवकाश पाइसकेपछि १२ उनले नेपाल म्युजिक सेन्टर पनि संगीत सिकाउँथे ।

अहिले सुनामको पार्थिव शरिरलाई ऋद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस