चुनावको बहानामा लालपुर्जा वितरण रोकिँदैन : शशी श्रेष्ठ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चुनावको बहानामा लालपुर्जा वितरण रोकिँदैन : शशी श्रेष्ठ


३० भाद्र २०७९, बिहिबार


विराटनगर । सरकारले गत वर्ष कात्तिकदेखि हालसम्ममा ४९ हजार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरेको छ ।

मोरङको कानेपोखरी ६ मा आयोजित लालपुर्जा वितरण समारोहलाई सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले यस्तो जानकारी दिएकी हुन् । उनले लालपुर्जा वितरणको काम कुनै पनि बहानाले नरोकिने पनि बताइन् ।

‘गत कात्तिक १६ गतेदेखि महोत्तरीको राम गोपाल गाउँपालिकाबाट सुरु गरेको धनी पुर्जा वितरण अहिले देशभरि भइरहेको छ,’ मन्त्री श्रेष्ठले भनिन्, ‘बिना लक्ष्य, बिना बजेट हामीले हालसम्ममा ४९ हजारलाई लालपुर्जा वितरण गरेर सुकुम्वासीलाई जग्गाको मालिक बनाउन सफल भयौँ ।’

सरकारले यही वर्षभित्र देशभरका सम्पूर्ण गाउँघरका सुकुम्वासीलाई लालपुर्जा वितरण गरिसक्ने लक्ष्य लिइएको पनि उनले बताइन् । ‘गरिब नागरिकहरूलाई अधिकार दिने भनेर संविधानमा उल्लेख भयो । तर, सधैँभरि राजनीतिक आग्रह पूर्वाग्रह भए,’ उनले भनिन्, ‘गरिब तथा विपन्नले परिचयपत्र पनि प्राप्त गर्न नसक्ने अवस्था भयो । त्यो स्थिति अन्त्य गर्नका लागि गरिब पहिचान गर्ने गरी स्थानीय तहलाई जिम्मेवार बनाउने कामको सुरुवात भएको छ ।’

उनले नागरिकलाई लालपुर्जा दिने विषयमा जस कसले लिने भन्ने प्रमुख कुरा नभएको पनि बताइन् । ‘जस कसले लिने भन्ने बहानामा नागरिकले पाउने संविधान प्रदत्त अधिकार स्थापित हुन नदिने कुरा मान्य हुँदैन । सरकारले नागरिकको अधिकार स्थापित गर्ने कुरा प्राथमिकतामा राखेको छ । जुन बेला नागरिकको अनुहारमा खुसी देखिनेछ, त्यो नै हाम्रो सन्तुष्टि र सफलता मान्नुपर्दछ,’ उनले भनिन् ।

लालपुर्जा पाएकाहरूले आफ्नै छाप्रोमा मर्न पाइने भयो भनेर सुनाएको प्रसङ्ग निकाल्दै अलिसान महलमा बस्नेहरूले चुनावको नाममा गरिबहरूको हुर्मत लिने कोसिस भइरहेको पनि उनले बताइन् ।

उनले भनिन्, ‘लालपुर्जा अहिले बाँड्ने होइन, चुनाव आयो भन्छन् । जो जनतालाई पानी पर्दा ओत लाग्ने छाप्रो छैन । त्यो नागरिकलाई चुनाव के मतलब ? यहाँ महलमा बस्नेहरूले भोटको राजनीति गरिरहेका छन् ।’

उनले लालपुर्जा बाँड्ने कुरा राज्यको दायित्व भएको पनि बताइन् । ‘मैले कुनै सदासयता, दया, मायाका कारण यहाँ आएर लालपुर्जा बाँडेको होइन, मेरो दायित्व हो । हामी मालिक होइनौँ । हिजो कुर्सीमा बस्नेहरूले आफू मालिक र जनतालाई रैतीको व्यवहार गरेका छन् । त्यस कारण यो काम चुनाव वा कुनै पनि बहानामा रोकिनु हुँदैन,’ उनले भनिन्, ‘सरकारले यसै वर्ष ३ सय पालिकामा ५ लाख सुकुम्वासीलाई लालपुर्जा बाँड्ने लक्ष्य राखेको छ ।’

६७ जनालाई पुर्जा वितरण
यसैबीच कानेपोखरीको वडा नम्बर ६ का ६७ जना भूमिहीन सुकुम्वासी तथा भूमिहीन दलित परिवारलाई भूमि आयोगले लालपुर्जा वितरण गरेको छ । मन्त्री श्रेष्ठले उनीहरूलाई लालपुर्जा वितरण गरेकी हुन् ।

कार्यक्रममा आयोगका अध्यक्ष केशव निरौला, उपाध्यक्ष नहेन्द्र खड्का, आयोग मोरङकी अध्यक्ष सुशीला घिमिरे ९सामना०, कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमति इङ्नाम, उपाध्यक्ष भोला अधिकारी लगायतको उपस्थिति थियो ।

कार्यक्रम स्थलमै भूमिहीन सुकुम्वासी २७ जना र भूमिहीन दलित ९ जनाले जग्गाको धनी पुर्जा पाएका छन् । अन्यलाई तत्काल वितरण गर्ने आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस