घनश्याम भुसाललाई गृहक्षेत्रमै उम्मेदवार बनाउनुपर्ने माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

घनश्याम भुसाललाई गृहक्षेत्रमै उम्मेदवार बनाउनुपर्ने माग


२० भाद्र २०७९, सोमबार


काठमाडौँ । नेकपा एमाले नेता घनश्याम भुसालको नाम आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि रुपन्देहीका दुई निर्वाचन क्षेत्रबाट सिफारिस भएपछि जिल्ला नेतृत्वलाई सिफारिस सच्याउन दबाब परेको छ।

जिल्लाको क्षेत्र नम्बर १ र ३ गरी दुई क्षेत्रबाट भुसालको नाम क्षेत्रीय कमिटीबाट सिफारिस भई जिल्ला कमिटीमा पुगेको छ।

भुसालको घर क्षेत्र नम्बर १ मै पर्छ। अघिल्लो चुनावमा उनलाई उनको गृहक्षेत्रमा टिकट नदिएर अध्यक्ष केपी ओलीले तत्कालीन स्वास्थ्यमन्त्री दीपक बोहराविरुद्ध ३ नम्बर क्षेत्रमा टिकट दिएका थिए।

पार्टीले क्षेत्र नम्बर १ र ३ बाट सिफरिस भई आएका भुसालको नाम एउटा मात्रै क्षेत्रबाट सिफारिस गराई प्रदेश कमिटीमा पठाउने गरी छलफल गरेको थियो। तर विवाद बढेपछि छलफल निष्कर्षविहीन भएको छ।

भुसालको गृहक्षेत्रका स्थानीय नेता तथा कार्यकर्ताहरूले उनलाई १ नम्बर क्षेत्रमै उठाउनुपर्ने अडान लिएका छन्।

मंगलबार बिहान पुनः १० बजे बस्ने गरी रुपन्देही जिल्ला कमिटीको बैठक स्थगित गरिएको छ।

बैठकमा नेताहरूले क्षेत्रीय कमिटीबाट सिफारिस भएअनुसार भुसालको नाम दुई क्षेत्रबाट पठाउँदा केन्द्रीय नेतृत्वको दबाब पर्ने देखेर रुपन्देही क्षेत्र नम्बर ३ बाट मात्रै पठाउने गरी छलफल अगाडि बढाएको थियो।

भुसाललाई १ नम्बर क्षेत्रबाट निर्वाचन लडाउन चाहने स्थानीय नेतृत्वले क्षेत्र नम्बर ३ बाट भुसालको नाम हटाएर १ मा मात्र सिफारिस गर्ने अडान लिएपछि सहमति हुन नसकेपछि सोमबार दिनभर बसेको बैठक निष्कर्षविहीन भएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस