काठमाडौँ । निजी क्षेत्रको वायुसेवा कम्पनी यती एयरलाइन्सले सेवा विस्तार गर्ने क्रममा एटीआर ७२-५०० विमान थप गरेको छ । यतीको यो छैटौँ विमान सोमबार दिउँसो सवा ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा अवतरण गरेको हो ।
यतीले ७० सिट क्षमताको उक्त विमान अस्ट्रेलियाको एभिएसन कम्पनीसँग लिजमा ल्याएको हो । उक्त विमान क्याप्टेन ओलिभर ज्यासन ज्याफ्रीले अष्ट्रेलिया, सिंगापुर, थाइल्याण्ड हुँदै नेपालमा ल्याएको कम्पनीका प्रवक्ता तथा हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए ।
एसएमएस नम्बर ९८६ सिरिजको उक्त विमानको पहिलो उडान सन् २०११ मा भएको थियो । जम्मा १० हजार साइकल मात्र उडान गरेको उक्त विमान नेपालमा उडान गर्ने अन्य विमान भन्दा पछिल्लो विमान भएको कम्पनीले दाबी गरेको छ । एटीआर विमानको जम्मा साइकल ७० हजार हुन्छ । एक अवतरणलाई एक साइकल गणना गरिन्छ ।
विमान संख्या थप गरेसँगै कम्पनीले हाल उडान गर्ने गन्तव्यमा नै सेवा विस्तार गर्ने नीति लिएको प्रवक्ता बर्तौलाले जानकारी दिए ।
यही आर्थिक वर्षभित्र अर्को एक विमान थप गर्ने र त्यसपछि नयाँ गन्तव्यमा सेवा विस्तार गर्ने तयारी भइरहेको उनले बताए । विमान थप भएपछि ५ वटा विमानलाई आधार बनाइ उडान गर्ने र एउटा विमानलाई जगेडामा राखी मर्मत तथा उडान ढिला हुँदा प्रयोग गरिने कम्पनीले जनाएको छ ।
यती एयरलाइन्सका अनुसार एटीआर ७२-५०० टर्बोप्रप विमानको पछिल्लो पुस्ताको प्रतिनिधित्व गर्दछ । ७० सिटको क्षमताको यो विमान टर्बोप्रप इन्जिन भएको उत्कृष्ट विमान मानिन्छ । यो विमानले नयाँ पुस्ताका जेटहरू भन्दा प्रति यात्रु-किमीमा लगभग ५० प्रतिशत कम कार्बन उत्सर्जन गर्ने र पुराना विमानहरू भन्दा तीन गुणा कम कार्बन उत्सर्जन गर्ने एयरलाइन्सको भनाइ छ ।