अर्जेन्टिनी उपराष्ट्रपति क्रिस्टिनाको हत्या प्रयास, आक्रमणकारी पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अर्जेन्टिनी उपराष्ट्रपति क्रिस्टिनाको हत्या प्रयास, आक्रमणकारी पक्राउ


१७ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेजमाथि बन्दुक प्रहार गरेर हत्या प्रयास भएको छ ।

प्रहरीले उपराष्ट्रपति फर्नान्डेजमाथि बन्दुक प्रहार गरेर हत्या प्रयासको आरोपमा एक जना व्यक्तिलाई पक्राउ गरेको छ । आरोपितले उपराष्ट्रपतिको हत्या गर्ने नियतले बन्दुक प्रहार गरेको प्रहरीले जनाएको छ ।

बिहीबार राति भएको घटनामा क्रिस्टिना आफ्नो घरबाहिर समर्थकहरूको बीचमा थिइन् । सोही क्रममा एक अज्ञात व्यक्तिले बन्दुक प्रहार गर्न खोजेको देखिन्छ । नजिक भएका मानिसहरूले बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा शरीरमा जोडेर बन्दुक प्रहार गर्न खोजेजस्तो देखिन्छ ।

बीबीसीले उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेट डे किर्चनर घरबाहिर समर्थकहरूलाई अभिवादन गरिरहेकी बेला भीडबाट निस्किएको एक व्यक्तिले उनको अनुहार ताकेर हातेबन्दुक देखाएको जनाएको छ । राष्ट्रपति अल्बर्टो फर्नान्डेजले बन्दुकमा पाँचवटा गोली भरिएको तर चलाउँदा गोली लाग्न असफल भएको बताएका छन् । उपराष्ट्रपति अहिले भ्रष्टाचारको मुद्दा खेपिरहेकी छिन् । यो घटना घट्दा उनी अदालतबाट घर फर्कंदै थिइन् । उनले भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएकी छिन् ।

अर्जेन्टिनाका सुरक्षामन्त्री अगुस्टिन रोसीले स्थानीय समाचार च्यानल सीफाइभएन लाई घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् । ‘आक्रमणकारीले उपराष्ट्रपतिको अनुहार नजिकै बन्दुक राखेका थिए । घटनाका क्रममा अराजकता भएको थियो,’ उनले भने, ‘संदिग्ध व्यक्ति क्रिस्टिनाको अगाडि देखा पर्ने बित्तिकै उनका सुरक्षा गार्डहरू सक्रिय भए ।’

Tags :
प्रतिक्रिया दिनुहोस