नेपाल गुणस्तर परिषदद्धारा १५ वटा गुणस्तर पारित « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेपाल गुणस्तर परिषदद्धारा १५ वटा गुणस्तर पारित


१५ भाद्र २०७९, बुधबार


काठमाडौँ । नेपाल गुणस्तर परिषद्ले आर्थिक वर्ष २०७८/०७९ मा १५ वटा गुणस्तर पारित गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको अध्यक्षतामा बसेको परिषद्को बैठकले सोही आवमा १५ गुणस्तर पारित गरेको हो ।

नयाँ मन्त्री नियुक्ति भएपछि परिषद्को दुईपटक बैठक बस्दा उक्त गुणस्तर पारित भएको हो । नेपाल गुणस्तर तथा नापतौल विभागको प्राविधिक समितिले गुणस्तर पारित गर्ने उद्योग तथा वस्तुको प्राविधिक अध्ययन गरी परिषद्मा पठाउने गर्दछ । परिषद्को सदस्य–सचिव विभागका महानिर्देशक हुने प्रावधान रहेको छ ।

विभागका महानिर्देशक दिनानाथ मिश्रले विभागको प्राविधिक समितिले ९२ गुणस्तर पारित गरिसकेको बताए । ‘विभागको प्राविधिक समितिबाट पारित भएको गुणस्तर क्रमशः नेपाल गुणस्तर परिषद्मा लगेर पारित गछौँ’, उनले भने । परिषद्ले आव २०७७/०७८ मा भने ३१ नेपाल गुणस्तर पारित गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्तिमा ढिलाई हुँदा आव २०७७/०७८ भन्दा गत आवमा नेपाल गुणस्तर पारित कम भएको विभागले जनाएको छ ।

विभागले आव २०७८/०७९ मा ५४ वटा उत्पादित वस्तुलाई इजाजतपत्र प्रदान गरेको छ भने १२ वटालाई प्रमाणपत्र प्रदान गरेको छ । सोही आवमा ४९ उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिन्ह प्रदान गरेको छ ।

सो विभागले गत आवमा दुई सय १३ पटक उद्योगको निरीक्षण अनुगमन, सात सय ५६ वस्तुको नमूना सङ्कलन र नौ वटाको प्रणाली प्रमाणिकरण प्रदान गरेको छ । तीन हजार दुई सय १४ वस्तुको प्रयोगशालामा रासायनिक, भौतिक, टेक्सटायल, छाला र कागजको परिक्षण सम्पन्न गरेको छ । एक हजार आठ सय ५९ वटालाई क्यालिब्रेसन सेवा प्रदान गरेको जनाएको छ ।

विभागले उक्त कार्य गरेवापत गत आवमा रु चार करोड ९२ लाख आठ सय पाँच राजश्व सङ्ककलन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस