तनहुँ कारागार चार वर्षदेखि स्वास्थ्यकर्मी विहीन  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तनहुँ कारागार चार वर्षदेखि स्वास्थ्यकर्मी विहीन 


१३ भाद्र २०७९, सोमबार


काठमाडौँ । करिब चार वर्षदेखि तनहुँ कारागार स्वास्थ्यकर्मी विहीन छ । अहेव सक्षम घिमिरे सरुवा भएपछि विसं २०७५ असोजदेखि हालसम्म कारागार स्वास्थ्यकर्मी विहीन रहेको तनहुँ कारागारले जनाएको छ ।

उक्त पदपूर्ति हुन नसक्दा कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य परीक्षणमा समस्या भएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । लामो समय स्वास्थ्यकर्मी विहीन हुँदा कैदीबन्दीको सामान्य उपचारमा समस्या भएको उनले बताए ।

सुरक्षाका दृष्टिकोणले कैदीबन्दीलाई उपचारका लागि लैजाँदा हातमा हतकडी लगाउनुपर्ने भए पनि बाहिरी जनमानसमा चिनिने लाजले उनीहरू रोग लुकाएर बस्ने अवस्था छन् । रिक्त रहेको अहेवको पदपूर्तिका लागि लोकसेवा आयोगमा लेखी पठाइएको निमित्त जेलर अधिकारीले जानकारी दिए । अब छिट्टै उक्त पद पदपूर्ति हुनेमा आफूहरू आशावादी भएको उनले बताए ।

तनहुँ कारागारमा अहिले ११ महिला र ब्लक ‘ए’ मा ६३ कैदी र ५५ थुनुवा, ब्लक ‘बि’ मा ६१ कैदी र ८६ थुनुवा, ब्लक ‘सी’ मा १० कैदी र ६ थुनुवा गरी २८१ जना पुरुष कैदीबन्दी रहेका छन् । एक सय ३५ क्षमताको पुरुष कारागारमा दोब्बरभन्दा बढी कैदीबन्दी राख्नुपर्दा गर्मी मौसममा सरुवा रोगदेखि विभिन्न किसिमका समस्या झेल्दै आएको कारागारले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस