पूर्व कप्तान पारसले पाए बागमती प्रदेशको क्रिकेट टिम हेर्ने जिम्मा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पूर्व कप्तान पारसले पाए बागमती प्रदेशको क्रिकेट टिम हेर्ने जिम्मा


१३ भाद्र २०७९, सोमबार


काठमाडौँ । पारस खड्काले नवौँ राष्ट्रिय खेलकुदमा बागमती प्रदेशको क्रिकेट टिम हेर्ने भएका छन् । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारसलाई क्रिकेट खेलको प्राविधिक समितिको प्रमुखको जिम्मेवारी दिएको हो । 

प्रदेश खेलकुद विकास परिषद्का अनुसार पारसले क्रिकेट खेलको संयोजकको जिम्मेवारी निर्वाह गर्नेछन् । उनले प्रदेश प्रतियोगिताको आयोजना, सञ्चालन र छनोटमा प्रमुख भूमिका खेल्नेछन् । बागमतीले नवौँ राष्ट्रिय खेलकुदमा क्रिकेट खेलमा स्वर्णको सम्भावना देखेको छ । सोही अनुसार प्रदेशले क्रिकेट खेलको सम्पूर्ण छनोटको जिम्मेवारी पारसलाई दिएको हो । 

बागमतीले सहभागी ३६ खेलको तालिका सार्वजनिक गर्दै संयोजक समेत तोकेको छ । प्रदेश खेलकुद विकास परिषद् बागमतीले भदौ १३ देखि प्रदेश छनोट सुरु गरेर २४ गतेभित्र सक्ने तालिका बनाएको छ । तालिका अनुसारनै सोमबारदेखि लनटेनिस र बक्सिङको छनोट सुरु भैसकेको छ । 

बागमती प्रदेशले छनोटबाट आएका खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने र स्वर्ण पदक विजेतालाई दसौँ राष्ट्रिय खेलकुदसम्म मासिक ६ हजार रुपैयाँका दरले भत्ता दिने निर्णय गरिसकेको छ । नवौँ राष्ट्रिय खेलकुदमा बागमतीले पहिलो स्थान हासिल गर्ने लक्ष्य राखेको छ । सरकारले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता यस वर्ष असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना गर्दैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस