नवलपरासी । सामसङ ब्रान्डको एलईडी टिभी अब नेपालमै बन्ने भएको छ ।
गोल्छा अर्गनाइजेसनअन्तर्गतको हिम इलेकट्रोनिक्स र सामसङको सहकार्यमा सामसङ एलईडी टिभी नेपालमै एसेम्बल गर्न लागिएको हो ।
त्यसका लागि पश्चिम नवलपरासीको भूमहीमा उद्योगको स्थापना गरिने भएको छ । बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल अध्यक्ष तथा सीएफओ एचके पार्कले उद्योगको शिलान्यास गरे ।
कार्यक्रममा मन्त्री बडूले नेपाल सामसङका उत्पादनको ठुलो आयातकर्ता भएको बताउँदै नेपालमा थप लगानी गर्न आग्रह गरे । एसेम्बल, प्रविधि आदानप्रदान नेपालका लागि कोसेढुंगा साबित हुने उनको भनाइ छ । उनले भने, ‘यसले नेपालमा रोजगारीको अवसर सिर्जना हुनुका साथै एफडीआई ल्याउन पनि मद्दत पुग्छ । सामसङलाई लगानी बढाउन आग्रह गर्छु । वैदेशिक लगानीको संरक्षण सरकारले गर्छ ।’
अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले एसेम्बल उद्योगको स्थापनाले नेपालमा उद्योगधन्दाको विकाससँगै दक्षता र उत्पादकत्वमा वृद्धि हुने आशा व्यक्त गरे ।
उनले भने, ‘यो सामसङसँगको हाम्रो २२ वर्ष लामो सहकार्यको सुखद परिणाम हो । उद्योगले नेपालको उत्पादन यात्रामा एक महत्त्वपूर्ण अध्यायको सुरुवात गर्नेछ । टिभीको एसेम्बल सुरु भएपछि २ वर्षमा ५ सय जना भन्दा बढीलाई रोजगारी दिनेछौँ । अधिकांश कामदारहरू अर्धदक्ष हुनेछन् । सुरुमा प्रतिदिन ५० देखि १ सय टिभी उत्पादन गरिने र उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएपछि प्रतिदिन १ हजार वटा उत्पादन गरिने लक्ष्य छ ।’