काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरकिता विधेयकबारे गलत ढंगले गलत उद्देश्यका लागि प्रचार गरिएको बताएका छन् ।
बुधबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले नेकपा एमालेले भोट बटुल्न गलत प्रचार गरेको बताएका हुन् ।
वन तथा वातावरणमन्त्री प्रदीप यादव र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसहित चितवन पुगेका दाहालले विधेयकमा आमाबुवा दुवै नेपालको नागरिक भएका छोराछोरीले नागरिकता पाउने विषय मात्र नयाँ भएको बताए ।
उनले भने, ‘यो विधेयकको सारतत्व भनेको आमाबुवा दुवै नेपालको नागरिक भएका छोराछोरीले नागरिकता पाउने विषय हो । ६र७ लाख युवाहरू नागरिकता नहुँदा सबै अवसरबाट वञ्चित थिए । यसलाई राष्ट्रघाती भन्नु पाखण्ड हो ।’
अध्यक्ष दाहालले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा लगिएको अध्यादेशमा भएका व्यवस्थाभन्दा कुनै फरक नभएको बताए । उनले भने, ‘ती मान्छेहरू जसले यही विधेयकलाई पोहोर अध्यादेशका रूपमा लगेका थिए तिनीहरूले नै यसलाई राष्ट्रघाती भन्नुभन्दा बेइमानी र अनैतिक केही हुँदैन ।’
राज्यव्यवस्था तथा सुशासन समितिको प्रस्ताव सदनमा लैजान पनि तत्कालीन नेकपाका अध्यक्ष ओली र एमाले गुटले नै नमानेको दाहालको आरोप छ।
एमालेले चुनावलाई हेरेर गलत प्रचार गरेको पनि दाहालले बताए । उनले भने, राष्ट्रवादको मुकुण्डो लगाएर भोट बटुल्न सकिन्छ कि भनेर दुस्साहस गरिररहेका छन् । तर नेपाली जनता सचेत भइसकेका छन्, बुझिसकेका छन् । यस्ता पाखण्डी प्रचारको पछि लाग्दैनन् ।’