सञ्चार मन्त्रालयले सङ्कलन गर्‍यो साढे ७ अर्ब बढी राजश्व « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सञ्चार मन्त्रालयले सङ्कलन गर्‍यो साढे ७ अर्ब बढी राजश्व


७ भाद्र २०७९, मंगलबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ७ अर्ब ६० करोड रुपैयाँभन्दा बढी राजश्व सङ्कलन गरेको जनाएको छ । 

मंगलवार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रालय र सम्बद्ध निकायहरूबाट आर्थिक वर्ष २०७८/०७९ मा सम्पादन भएका प्रमुख उपलब्धिहरूको सार्वजनिक गर्दै सो कुराको जानकारी दिएका हुन् ।

उनले मन्त्रालय र अन्तर्गतका निकायहरूबाट आर्थिक वर्ष २०७८/०७९ मा कुल राजश्व ७ अर्ब ६० करोड ७२ लाख ५३ हजार रुपैयाँ सङ्कलन भएको बताए । उनले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको खुद नाफा ८ अर्ब ३८ करोड रुपैयाँ रहेको पनि उल्लेख गरे । मन्त्री कार्कीले आव २०७८/०७९ मा कुल बजेटको ८०.६१ प्रतिशत खर्च भएको पनि जानकारी दिए । मन्त्री कार्कीले सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने कार्यहरू पूर्ण रूपमा अनलाइनमार्फत प्रवाह हुने व्यवस्था मिलाइएको पनि बताए । उनले नागरिक एपको स्तरोन्नति गर्दै ४५ सेवालाई यस एपमा आबद्ध गरिएको जानकारी दिए ।  

चलचित्र क्षेत्रलाई गतिशील बनाउन सिनेमा, स्टोरी बैङ्क, सातै प्रदेशमा छायाङ्कन स्थल र विकास लगायतका कार्यक्रमलाई प्राथमिकता दिइएको उनको भनाइ छ । त्यस्तै, वरिष्ठ चलचित्र कलाकारहरूको सम्मानका लागि चलचित्रकर्मी परिचयपत्र तथा बीमा कार्यक्रम सुरु गरिएको उनले बताए । उनले सुरक्षण मुद्रणका लागि आवश्यक उपकरणसहितको मेसिन खरिद गरी जडान गरिएको र यसै आर्थिक वर्षबाट मुद्रण कार्य प्रारम्भ हुने बताए । मन्त्री कार्कीले ७३५ स्थानीय तहमा फोरजी सेवा बिस्तार भएको र हालसम्म १२ हजार २२४ किमी अप्टिकल फाइबर बिस्तार गरिएको पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस