काठमाडौँ । सर्वोच्च अदालतका कर्मचारीले संघीय निजामती ऐन जारी गर्न माग गर्दै आन्दोलन गरेका छन् ।
ऐन जारी नहुँदा कर्मचारीलाई असर परेको भन्दै कर्मचारीहरूले आन्दोलन गरेका हुन् । केन्द्रीय ट्रेड युनियनको आह्वानमा आन्दोलन थालेको बताइएको छ ।
सोमबार एक घण्टा धर्ना दिइएको छ भने १७ गतेसम्म हातमा कालोपट्टि बाँधेर काम गर्ने गरिने छ।
संघीय निजामती ऐनसँगै संयुक्त ट्रेड युनियन सञ्जालले अरू माग पनि उठाएका छन्।
उनीहरू क्षतिपूर्ति सहितको नागरिक सेवा प्रवाहको सुनिश्चितता गर तीनै तहमा कार्यरत कर्मचारीहरूलाई निजामतीको परिभाषामा समावेश गर्न, तीनै तहमा कायम हुने गरी तहगत प्रणाली लागू गर्न माग गरेका छन्।
त्यस्तै, तीनै तहमा अन्तरसम्बन्ध कायम हुने सुनिश्चिततासहित राष्ट्रिय स्तरका ट्रेड युनियन र आधिकारिक ट्रेड युनियनको व्यवस्था गर्न, राष्ट्रिय स्तरका ट्रेड युनियनहरूको सहभागितासहित पे कमिसन गठन गर्न, तीनै तहमा कार्यरत कर्मचारीहरूको समान अवधिमा वृत्ति विकासको सुनिश्चितता गर्न र अस्थायी, करार, ज्यालादारी कर्मचारीहरूको न्यायोचित व्यवस्थापन गर्न माग गरेका छन्।
उनीहरूले सबै पदका कर्मचारीहरूको पदसोपान अनुसार तलबमान कायम गर्न र सङ्घ, प्रदेश र स्थानीय तहमध्ये एक तहबाट अर्को तहमा सेवा प्रवेश गर्दा सेवा निरन्तरता कायम गर्न आग्रह गरेका छन्।