भोलि सत्य निरूपण विधेयक पेस हुने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भोलि सत्य निरूपण विधेयक पेस हुने


६ भाद्र २०७९, सोमबार


काठमाडौँ । सरकारको उच्च प्राथमिकतामा रहेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक मङ्गलवार (भोलि) पेस हुने भएको छ ।

आइतबार संसद्मा टेबुल गर्ने तयारी गरिएको विधेयक काँग्रेस सांसद प्रदीप गिरिको निधनले प्रतिनिधिसभा बैठक स्थगित हुँदा पेस गर्ने समय लम्बिएको छ । शनिबार सार्वजनिक सम्भावित कार्यसूचीमा परेको विधेयकलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द शर्मा बन्दीले आइतबार पेस गर्ने कार्यक्रम थियो । तर, परिस्थितिले बैठक नै स्थगित भएपछि विधेयक पेस हुन सकेन ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार सोमबार दिउँसो १ बजेलाई सरेको बैठकमा शोक प्रस्ताव पारित गरिनेछ । बहालवाला सदस्यको निधन भएकाले प्रतिनिधिसभा बैठकमा शोक प्रस्ताव मात्रै पारित गर्ने र अन्य कार्यसूची हुने छैन । यद्यपि, अर्को बैठकमा राखेर अन्य बिजनेस अगाडि बढाउन सकिन्छ ।

सोमबार अर्को बैठक बस्ने तय भएको छैन । यसो हुँदा मङ्गलवारको प्रतिनिधिसभा बैठकमा मात्रै सत्य निरूपण विधेयक पेस हुनेछ । सरकारले विधेयकमा पीडित पक्ष, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायको चासोलाई समेट्ने भनेकाले संशोधनको समय दिइनेछ । प्रतिनिधिसभा नियमावलीअनुसार विधेयक पेस भएको ७२ घण्टा संशोधनका लागि दिइन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस