कारागारमा कैदी बन्दी व्यवस्थापनमा चुनौती « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

कारागारमा कैदी बन्दी व्यवस्थापनमा चुनौती


६ भाद्र २०७९, सोमबार


कञ्चनपुर । कञ्चनपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदी बन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ ।

कारागारमा पुरुष ९५ र महिला २० कैदी बन्दी राख्ने क्षमता रहेको छ । कारागारमा अहिले २० महिला सहित चार सय २९ पुरुषलाई राखिएको छ । ती मध्ये लागु औषध मुद्दाका मात्रै एक सय ५२ रहेका छन् ।

क्षमताभन्दा बढी कैदी बन्दीलाई राखिएपछि बस्नका लागि समेत समस्या भएको छ । कैदी बन्दी बस्ने भवनमा ठाउँ नभएपछि ग्यालरी, टिनसेट र खाली ठाउँमा त्रिपाल टाँगेर बस्ने व्यवस्था गरिएको छ । राति सुत्नका लागिसमेत कैदी बन्दीले पालो मिलाउँदै आएका जनाइएको छ ।

सुत्नका लागि व्यवस्था गरिएको ठाउँबाट वर्षाको पानीको भल बग्ने भएकाले कैदी बन्दीले अनिदोमै रात काट्नुपर्ने अवस्थासमेत रहेको छ । ‘थोरै पानी पर्दा समस्या छैन’, कारागारका जेलर मायाकुमारी बस्नेत थापाले भने, ‘ठुलो वर्षा भए कैदी बन्दीलाई बस्न र सुत्नका लागि निकै समस्या छ ।’ कैदी बन्दीको सङ्ख्या अधिक हुँदा कारागारभित्र खुट्टा टेक्ने ठाउँसमेत नभएको उनले बताइन् ।

‘कारागारको क्षमताभन्दा कैदी बन्दीको सङ्ख्या अधिक भएपछि व्यवस्थापन गर्न निकै चुनौती छ’, उनले भनिन्, ‘सबै भवन पुराना छन् । बर्सातका बेला चुहिने गरेका छन् । चुहिने भवनभित्रै प्लास्टिकको त्रिपाल टाँगेर कैदी बन्दीलाई राख्नु परेको छ ।’ उनका अनुसार भित्र ठाउँ नभएर बाहिर क्षेत्रमा त्रिपाल टाँगेर समेत कैदी बन्दीलाई राखिएको छ ।

‘केही दिनभित्रै अन्य जिल्लामा बढी भएका कैदी बन्दीलाई स्थानान्तरण गर्छौँ’, उनले भनिन्, ‘कम कैदी बन्दी भएका जिल्लाका कारागारमा स्थानान्तरणका लागि प्रक्रिया थालेका छौँ’, कारागारभित्र रहेका भवनमा छ शौचालय र आठ बस्ने कोठा रहेका छन् । शौचालय जानका लागिसमेत लाइनमै बस्नु पर्दा निकै सास्ती खेप्नुपरेको कैदी बन्दीले बताएका छन् ।

वर्षौँ पहिले निर्माण भएका भवन जीर्ण भएपछि पुराना भवनको मर्मत र नयाँ भवन निर्माणका लागि सम्बन्धित निकायमा पटक पटक पत्राचार गरिएको भए पनि हालसम्म सुनुवाइ हुन नसकेको जेलर थापाले बताइन् । । ‘कोरोनाको सङ्क्रमणको खतरा भए पनि हालसम्म कुनै पनि कैदी बन्दीमा कोरोनाको सङ्क्रमण देखा परेको छैन’, उनले भनिन्, ‘केही कैदी बन्दीमा भाइरल ज्वरोको सङ्क्रमण देखिएकाले उपचार भइरहेको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस