अमलेखगञ्जमा पेट्रोल भण्डारण ‘ट्याङ्क’ निर्माण सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अमलेखगञ्जमा पेट्रोल भण्डारण ‘ट्याङ्क’ निर्माण सुरु


३ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । बिहारको मोतिहारीदेखि अमलेखगञ्जसम्म पाइप लाइनबाट पेट्रोल आयात गर्ने दोस्रो चरणको परियोजनाअन्तर्गत पूर्वाधार निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । 

दोस्रो चरणको कार्यअन्तर्गत आईओसीको प्राविधिक सहयोगमा अमलेखगञ्ज डिपोको हाताभित्र पेट्रोल भण्डारण गृह (ट्याङ्क) निर्माण सुरु भएको हो ।

मोतिहारीबाट पाइप लाइनमार्फत डिजल आयात गर्ने पहिलो चरणको परियोजना सम्पन्न भएपछि पाइप लाइनबाट पेट्रोल आयात गर्न दोस्रो चरणको कार्य सुरु भएको नेपाल आयल निगमको अमलेखगञ्ज डिपोले जनाएको छ । मोतिहारीदेखि अमलेखगञ्ज ७६ किमीको दुरी रहेको छ । नेपाल र भारतबीच भएको सम्झौताअनुसार दोस्रो चरणको कार्य इन्डियन आयल कर्पोरेशन (आईओसी)ले गर्ने बताइएको छ ।

यो पूर्वाधार निर्माण गर्न एक अर्ब ३० करोड रुपैयाँ लाग्ने अनुमान रहेको डिपोका प्रमुख प्रदीप यादवले जानकारी दिए । भण्डारण गृह निर्माण नभएका कारण  पाइप लाइनबाट पेट्रोल ल्याउन नसकिएको उनले बताए । यो परियोजनाअन्तर्गत पहिलो चरणको २०७६ भदौ २४ गते सम्पन्न कामबाट पाइप लाइनबाट डिजल आयात गर्न सुरु भएको बताइएको छ ।

दोस्रो चरणअन्तर्गत अमलेखगञ्जमा पेट्रोल भण्डारण गर्न चार हजार एक सय किलोमिटर क्षमताका दुई ट्याङ्की निर्माण भइरहेको छ । साथै डिजल र पेट्रोलको गुणस्तर परीक्षण गर्न प्रयोगशाला र आधुनिक प्रविधिसहित ट्याङ्कर लोड र अनलोड गर्न २४ वटा लोडिङ फिलिङ्गसेट निर्माण गर्न लागिएको हो ।

यो प्रणालीबाट लोड अनलोड गर्दा आगलागीको जोखिम कम हुन्छ । पेट्रोल चोरी र ढुवानीको समस्या हट्ने विश्वास लिइएको छ । त्यस्तै मोतिहारीमा पनि पेट्रोल भण्डारण गृह निर्माण भइरहेको छ । विगतमा रक्सौलबाट अमलेखगञ्जसम्म ३५ किमीको दुरीमा ट्याङ्करमार्फत पेट्रोलियम पदार्थअन्तर्गत पेट्रोल र डिजल आयात भइरहेको थियो । अहिले पाइप लाइनबाट प्रतिघण्टा दुई सय ५० किलोलिटरका दरले डिजल आयात भइरहेको बताइएको छ ।

पहिलो चरणको परियोजनामा पाइप लाइनमार्फत डिजल आयात गर्न नेपाल आयल निगम र आईओसीको संयुक्त लगानीमा मोतिहारीदेखि अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन निमार्णको काम दुई अर्ब ७५ करोड भारतीय रुपैयाँमा सम्पन्न भएको थियो । अमलेखगञ्जमा अहिले १९ हजार किलोमिटर क्षमताको डिजल र दुई हजार एक सय किलोमिटर पेट्रोल भण्डारण गर्ने क्षमता छ । बजारको मागअनुसार पाइप लाइनमार्फत डिजल आयात भइरहेको छ । यो पाइपलाइनबाट आयात गरिएको डिजल वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, काठमाडौँ, पोखरा, चितवनलगायत जिल्लामा बिक्री वितरणका लागि पठाउने गरिएको छ ।

नेपालका तर्फबाट तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापा र भारतका तर्फबाट प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधानबीच २०७२ भदौ ७ गते पेट्रोलियम पाइप लाइन परियोजना निर्माण गर्नका लागि सम्झौता भएको थियो । आउँदो सन् २०२४ जनवरीमा पूर्वाधार निर्माण सकेर पाइप लाइनबाट पेट्रोल आयात गर्ने आयल निगमको लक्ष्य रहेको अमलेखगञ्ज डिपोले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस