गठबन्धन टुटे देश दुर्घटनामा जान्छ : गुरुङ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गठबन्धन टुटे देश दुर्घटनामा जान्छ : गुरुङ


२१ असार २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन टुटे देश दुर्घटनातर्फ जाने दाबी गरेका छन् ।

आज (मंगलबार) काठमाडौँमा नेपाल ट्रेड युनियन काँग्रेसले आयोजना गरेको स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण कार्यक्रममा नेता गुरुङले यस्तो बताएका हुन् ।

पाँच दलीय सत्ता गठबन्धनलाई आकाशमा उडिरहेको विमानसँग तुलना गर्दै गुरुङले गठबन्धनरुपी विमान सुरक्षित अवतरण नगरे दुर्घटनातर्फ जाने बताएका थिए । साथै आगामी मंसिरपछि मात्रै उक्त विमानले सुरक्षित अवतरण गर्न सक्ने उनको आकलन थियो ।

संविधानको रक्षा गर्नका लागि गठबन्धन सरकार बनेको र बीच बाटोमा पुगेर दलहरूले एकअर्काप्रति आरोप, प्रत्यारोप गर्न नहुने उनको तर्क थियो ।

‘स्थानीय निर्वाचनमा हामी पाँच दल एउटै जहाज चढ्यौँ । जहाज उडिसकेको छ । आकाशमा छ । तर ल्यान्डिङ भएको छैन । अब हामीले त्यो जहाजलाई सेफ ल्यान्डिङ कसरी गर्ने भनेर चिन्तन र चिन्ता गरिरहेको बेलामा त्यही जहाजभित्र बसेर साथीहरूले ङ्यारङ्यार ङुरङुर गर्न हुन्न भन्ने मेरो ठहर छ । जहाजलाई सेफ ल्यान्डिङ गर्नुपर्ने हाम्रो दायित्व छ । वा त हामीले जहाजबाट प्यारासुट जम्प गर्नुपर्छ । तर खुट्टा भाँचिन्छ कि भन्ने पनि हामीलाई त्रास छ’, उपसभापति गुरुङले भनेका छन् ।

यस्तै आफूहरूको लक्ष्य संविधान जोगाउने भएकाले जहाज ल्यान्डिङ नगर्दै आरोप प्रत्यारोप लगाउँदा अपरिपक्व राजनीतिज्ञ भएको प्रमाणित हुने उनको भनाइ थियो । उनले भने, आउने मंसिरतिर, सायद मलाई लाग्छ हामी जहाज सेफ ल्यान्डिङ गर्नसक्छौं ।’

Tags :
प्रतिक्रिया दिनुहोस