४ महिनामै अर्को प्रदेश पुगे सहसचिव सुवेदी « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

४ महिनामै अर्को प्रदेश पुगे सहसचिव सुवेदी


६ असार २०७९, सोमबार


काठमाडौँ । ‘प्रयास’ उपनामबाटसमेत चिनिने सहसचिव नेत्रप्रसाद सुवेदीको चार महिनामै अर्को प्रदेशमा सरुवा भएको छ ।

२०७८ फागुन १ देखि २०७९ जेठ मसान्तसम्म ४ महिना श्रम, रोजगार तथा यातायात मन्त्रालयमा काम गरेका सुवेदी २०७९ जेठ २३ को निर्णय अनुसार २०७९ असार ६ गतेबाट लुम्बिनी प्रदेशको मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हाजिर भएका छन् ।

बागमती प्रदेश सरकारको नयाँ मन्त्रालयका रूपमा रहेको श्रम, रोजगार तथा यातायात मन्त्रालयको पहिलो पूर्णकालीन प्रदेश सचिवका रूपमा सुवेदी सवारी तथा यातायात व्यवस्थापन सम्बन्धी केही कार्यविधि निर्माण, सेवा प्रवाहको वातावरण निर्माण, सवारी साधन सम्बद्ध कागजातहरूको डिजिटाइजेसनको तयारी लगायतमा अग्रसर भएका थिए ।

लामो समयसम्मका लाइसेन्स परीक्षाको बक्यौता सूचिलाई तीन महिनाभित्र सम्पन्न गर्न तथा अभिलेखमा देखिएका त्रुटिहरूले नवीकरण कार्य प्रभावित भइरहेको सन्दर्भमा प्रदेश क्याबिनेटबाट निर्णय गराई निकास दिने कार्य पनि उनकै कार्यकालमा भएको छ ।

यद्यपि यातायातमा थुप्रै समस्याहरू बाँकी छन् । सवारी साधनमा विद्युतीय माध्यमबाट भाडा भुक्तानी सम्बन्धी प्रणाली लागू गर्ने सम्बन्धमा आवश्यक तयारी गर्दागर्दै उनीउपर मुख्यमन्त्री स्वयम् बाट असहयोग गरेको आरोपसमेत लागेको बुझिएको छ ।

खरिद कागजातको आवश्यक तयारी तथा सरोकारवालासँगको पर्याप्त संवाद बिना ठुलो आकारको र दूरगामी प्रभाव पर्ने सेवा प्रदायक छनौट गर्ने कार्य गर्नु सिङ्गो प्रदेश सरकारकै लागि जोखिम र असफलताको कारण बन्न सक्ने आधार देखाउँदै पर्याप्त तयारीमा जुटेका सुवेदीको त्यही बिचमै सरुवा हुनुलाई काकताली भने मान्न सकिँदैन ।

सुशासन स्थापनामा सूचना प्रविधिको प्रयोगलाई नजिकबाट अनुभव सङालेका तथा तल्लो तहका जनतालाई सेवा प्रवाह र विकासका लागि उपयोगी सुधारका लागि प्रतिबद्ध सुवेदीको अचानक गरिएको काज सरुवालाई चासोका साथ हेरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस