नेपालको आर्थिक वृद्धिदर यो वर्ष ४.१ प्रतिशत हुने प्रक्षेपण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपालको आर्थिक वृद्धिदर यो वर्ष ४.१ प्रतिशत हुने प्रक्षेपण


२५ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । विश्व बैङ्कले सन् २०२२/२३ का लागि नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत बराबर मात्रै रहने प्रक्षेपण सार्वजनिक गरेको छ ।

‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैङ्कले यसअघिको प्रक्षेपणभन्दा ०.२ प्रतिशत बिन्दुले अनुमान घटाएको हो । त्यस्तै आगामी वर्ष २०२३/२४ का लागि नेपालले ५.८ प्रतिशतको वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ ।

नेपालले भने आर्थिक वर्ष २०७८/७९ का लागि ५.८४ र आर्थिक वर्ष २०७९/८० का लागि ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ ।

विश्व बैङ्कले सबै दक्षिण एसियाली मुलुकहरुको आर्थिक वृद्धिदर यसअघि गत जनवरीमा अनुमान गरेको भन्दा कम रहने जनाएको छ ।

सन् २०२२ का लागि दक्षिण एसियाली क्षेत्रमा ७.६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने यसअघिको प्रक्षेपणलाई ०.८ प्रतिशत बिन्दुले घटाएर ६.८ प्रतिशत कायम गरेको छ ।

आर्थिक वृद्धिदर घट्ने अनुमानका पछाडि बाह्य क्षेत्रलाई मुख्य कारण मानिएको छ । बढ्दै गएको चालु खाता घाटा, खाद्यान्न लगायत उपभोग्य सामग्रीको मूल्य वृद्धिजस्ता कारणहरुलाई चुनौतीका रुपमा हेरिएको छ ।

त्यस्तै कृषि क्षेत्रमा रासायनिक मलको अभाव, गहुँलगायत खाद्यान्न वस्तुहरुको आपूर्तिमा अवरोध, ऊर्जा सङ्कटजस्ता कारणले आर्थिक वृद्धि कर कम हुने ठानिएको छ ।

सन् २०२३/२४ मा भारतले भने ७.१ प्रतिशत आर्थिक वृद्धि कायम गर्ने अनुमान गरिएको छ । त्यसैगरी बङ्गलादेशले ६.९, भुटानले ६.७ र पाकिस्तानले ४ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने विश्व बैङ्कको प्रक्षेपण छ ।

दक्षिण एसियामा सबैभन्दा राम्रो आर्थिक वृद्धिदर माल्दिभ्सको हुने अनुमान गरिएको छ । माल्दिभ्सले सन २०२२ मा ७.७, २०२३ मा १०.२ र २०२४ मा ७.१ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने अनुमान गरिएको छ ।

नेपाल, पाकिस्तान र श्रीलङ्काले भोगिरहेको विदेशी मुद्रा सञ्चितिको चापलाई पनि यस क्षेत्रको आर्थिक वृद्धिदर न्यून हुनुमा चुनौतीका रुपमा हेरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस