शुक्लागण्डकीमा ‘सेवा प्रवाह सञ्चालन केन्द्र’ « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

शुक्लागण्डकीमा ‘सेवा प्रवाह सञ्चालन केन्द्र’


२० जेष्ठ २०७९, शुक्रबार


दमौली । केही काम लिएर तनहुँको शुक्लागण्डकी नगरपालिका जाँदै हुनुहुन्छ ? नगरपालिका प्रवेश गरिसकेपछि सम्बन्धित शाखा खोज्दै हैरानी बेहोर्नुभएको छ ? सामान्य कामका लागि पनि कोठाकोठा चहार्दै हिँड्दा सास्ती खेप्दै आउनुभएको छ भने अब त्यस्तो समस्या अन्त्य हुने भएको छ ।

सरकारी कार्यालयमा सेवाग्राहीलाई सेवा लिन हुने झन्झटको अन्त्य गर्नका लागि शुक्लागण्डकी नगरपालिकाले ‘सेवा प्रवाह सञ्चालन केन्द्र’ सुरु गरेको छ । यो सेवा केन्द्र सञ्चालन भएपछि सेवाग्राही अब सेवा लिन कोठा कोठा हिँड्नु पर्दैन । सेवा केन्द्रमा पुगेर फाइल बुझाएपछि सेवाग्राहीले आराम गर्दै गर्दा काम सकाएर फाइल हातमै पाउँछन् ।

नगरपालिका आउँदा फाइल बोकेर कोठाकोठा धाउनुपर्ने अवस्थाको अन्त्य गर्न नगरपालिकाले सेवा प्रवाह सञ्चालन केन्द्र सुरु गरेपछि नगरवासी खुसी भएका छन् ।

दुलेगौडाका ज्योतिकुमार श्रेष्ठले नगरपालिकामा राम्रो कामको सुरुआत भएको बताए । स्थानीयवासी विष्णु पराजुली अधिकारीले उदाहरणीय कामको सुरुआत भएको बताउँदै समय निर्धारण गर्नुपर्ने बताए । ‘समय पनि तोक्न पाए राम्रो हुन्छ, समय लामो भयो भने फाइल कुर्दा कुर्दै बास बस्नुपर्ने अवस्था पनि नआउला भन्न सकिँदैन’, उनले भने ।

नगरपालिकाको सार्वजनिक सेवा प्रवाहलाई सहज, छिटो, पारदर्शी र नागरिकमैत्री बनाउन केन्द्र सञ्चालनमा ल्याइएको उपप्रमुख खुमबहादुर विकले जानकारी दिए । ‘सेवाग्राही कार्यालयमा सेवा लिन आउँदा विभिन्न कोठा चाहर्नुपर्ने बाध्यताको अन्त्यका लागि केन्द्र सुरु गरेका हौँ’, उनले भने, ‘केन्द्र सञ्चालनमा आएपछि सेवाग्राहीले सहजरुपमा सेवा पाउनुहुनेछ ।’

नगरपालिकाको भुईँ तल्लामा रहेको सेवा प्रवाह सञ्चालन केन्द्रमा सेवाग्राहीले फाइल बुझाएपछि केन्द्रका कर्मचारीले सम्बन्धित सबै फाँट/शाखामा लगेर काम सम्पन्न गरी फाइल पुनः सेवाग्राहीलाई बुझाउनेछन् ।

तोकिएको मापदण्डबमोजिमको कागजातको अभाव देखिएमा वा रितपूर्वक नदेखिएमा उक्त केन्द्रमा राखिएको टेलिफोन सेवाको प्रयोग गरी सम्बन्धित शाखाको अधिकारीले सेवा केन्द्रका कर्मचारीको समन्वयमा सेवाग्राहीसँग प्रत्यक्ष टेलिफोन वार्ता गरी के कति कारणले फाइल रोकिएको हो, त्यसका कारण र नपुग कागजात, विधि र प्रक्रियाबारे बुझाइने उपप्रमुख विकले बताए ।

जटिल प्रकृतिका सेवा प्राप्तिमा अन्योल हुन गएमा मात्र प्रमुख प्रशासकीय अधिकृत र सम्बन्धित शाखाका कर्मचारीले तुरुन्त सेवा केन्द्रमा उपस्थित भई सेवाग्राहीलाई सो फाइल उपर छलफल गर्ने जनाइएको छ ।

फाइल प्राप्तिदेखि तोक आदेश, दर्ता, सम्बन्धित शाखामा पेस र अन्तिम सेवा नागरिकको हातमा दिनेसम्मको कामका लागि सेवा प्रवाह सञ्चालन केन्द्रमा आवश्यकरुपमा कर्मचारीको व्यवस्थापन गरिने प्रमुख प्रशासकीय अधिकृत लीलाबल्लभ न्यौपानेले बताए ।

आवश्यकताबमोजिम प्रमुख प्रशासकीय अधिकृतको निर्देशनमा कार्यबोझलाई न्यूनीकरण गर्नुपर्ने देखिएमा सम्पूर्ण शाखालाई समेत कार्ययोजना बनाई उक्त सेवा केन्द्रमा खटाइने नगरपालिकाले जनाएको छ । ‘कार्यालयमा आउने सेवाग्राही फाइल लिएर वा नलिएर कुनै पनि शाखामा प्रवेश गर्नुपर्ने छैन तर नगरप्रमुख र उपप्रमुखलाई भेट्न भने कुनै बाधा पर्नेछैन’, उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस