मान्म । कर्णाली करिडोरमा नौ वटा पक्की पुल निर्माण हुने भएका छन् ।
कालीकोटको खुलालुदेखि हुम्लाको सदरमुकाम सिमकोटसम्म ती पुल निर्माण हुने भएका हुन् ।
कर्णाली करिडोरअन्तर्गत पर्ने कालीकोट सडकखण्डको खुलालु, सान्नीघाट र फुगाड खोलामा तथा बाजुराको जुड्डी, बूढीगाड, गल्फगाड र कवाडी खोलामा पक्की पुल निर्माण हुने भएको हो ।
त्यस्तै हुम्लाको सलीसल्लाको कर्णाली नदी र सर्केगाड खोलामा पुल निर्माण हुने हुम्ला सडक डिभिजन कार्यालयले जनाएको छ ।
पक्की पुल निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढेको उक्त कार्यालयका इन्जिनियर वीरेन्द्र यादवले जानकारी दिए । ‘ठेक्का प्रक्रिया अगाडि बढेको छ,’ उनले भने, ‘यी खोलामा चाँडै पक्की पुल निर्माणको काम अगाडि बढ्छ ।’
सडक खण्ड फराकिलो पारिँदै
कर्णाली करिडोरअन्तर्गत कालीकोट सडक खण्ड फराकिलो बनाउन थालिएको छ । कालीकोटको खुलालुदेखि लैफुसम्म करिडोर क्षेत्रको ४२ किलोमिटर सडक फराकिलो पार्ने काम सुरु भएको हो ।
सडक चौडा बनाउने कामको थालनी गरिएको र दुई ठेकेदार कम्पनीहरुले काम सुरु गरिसकेको उक्त कार्यालयले जनाएको छ ।
कर्णाली करिडोर साँघुरो हुँदा यातायात सञ्चालनमा समस्या भएकाले सडक फराकिलो पार्न लागिएको उक्त कार्यालयका इन्जिनियर यादवले बताए । ‘सडक फराकिलो पार्ने पहिलो चरणको काम सुरु भएको छ,’ उनले भने, ‘अब हुम्लासम्म नै सडक फराकिलो पार्ने काम हुनेछ ।’ करिडोरअन्तर्गतको ४० किलोमिटर कालीकोट खण्ड, ४४ किलोमिटर बाजुरा खण्ड र ११३ किलोमिटर हुम्ला खण्ड रहेको छ ।