गण्डकी । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले लोकतन्त्रमा सुशासन, पारदर्शिता र जबाफदेहिता आवश्यक हुने बताएका छन् ।
प्रजातान्त्रिक विचार समाज कास्कीको नवौँ अधिवेशन तथा आवधिक निर्वाचन, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक विकास विषयक गोष्ठीमा उनले सुशासन, पारदर्शिता र जबाफदेहिता लोकतन्त्रका आधारभूत सर्त भएको बताएका हुन् ।
आवधिक निर्वाचन, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक विकास एक अर्कासँग अन्तर सम्बन्धित रहेको उल्लेख गर्दै उनले समृद्धिका लागि आर्थिक सुशासनसँगै उत्पादन बढाउनेतर्फ लक्षित हुनुपर्नेमा जोड दिए । देशको क्रय शक्तिले धान्ने अवस्था नरहेको उल्लेख गर्दै उनले १८ खर्बको व्यापार घाटा गम्भीर विषय भएको बताए ।
सरकार सञ्चालन र निर्वाचनको तालमेल फरक विषय भएको बताउँदै उनले तालमेलसँग जोडिएका धेरै विषय र त्यसले आगामी दिनमा पार्टी सङ्गठनमा पार्ने प्रभावलगायत विषयमा गम्भीर समीक्षा गरेर बढ्नुपर्ने आवश्यकता औँल्याए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले जनताका मुद्दालाई सम्बोधन गर्ने गरी काँग्रेस लाग्नुपर्ने जनाउँदै प्रजातान्त्रिक विचार समाजले पार्टीले लिनुपर्ने नीति, विचार लगायतमा बहस र छलफल गराउनुपर्ने बताए ।
प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष डा। केदार नरसिंह केसीले आर्थिक विकास भएमा प्रजातन्त्रको सुदृढीकरण हुनसक्ने उल्लेख गर्दै आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएको बताए ।
समाजका वरिष्ठ केन्द्रीय उपाध्यक्ष कुलचन्द्र वाग्लेले समाजले लोकतन्त्रको सुदृढीकरणमा वैचारिक बहससँगै प्रकाशनलगायतका काम गर्दै आएको बताए ।
कार्यक्रममा समाजका महासचिव गोकर्ण अर्याल, पूर्वमन्त्रीद्वय, यज्ञबहादुर थापा र महादेव गुरुङ, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. प्रेमनारायण अर्याल, कास्की काँग्रेसका सभापति किशोरदत्त बराल, प्रजातन्त्रवादी प्राध्यापक सङ्घका कमलराज सापकोटा, ट्रेड युनियन काँग्रेस कास्कीका सभापति विजयराज भण्डारी, प्रजातान्त्रिक विचार समाज कास्कीका अध्यक्ष प्रा. डा. गिरीधारी शर्मा, उपाध्यक्ष डा. वीरबहादुर कार्की, सचिव शिशुकला पराजुलीलगायतले बोलेका थिए ।