काठमाडौँ । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेता शेखर कोइरालाबिच पार्टीका भातृ संस्थालाई नेतृत्व दिनेलगायत विषयमा छलफल भएको छ।
आज बिहान कोइरालाले सभापति देउवासँग टेलिफोनमा कुराकानी गरेका हुन्। काँग्रेसमा नेविसंघ, तरुण दल, महिला सङ्घलगायत ५ भातृ संस्था नेतृत्वविहीन छ भने नेपाल दलित सङ्घको महाधिवेशन तय भए पनि अनिश्चितका लागि स्थगित भएको छ।
कुराकानीका क्रममा नेतृत्वविहीन रहेका भातृ संस्थालाई छिट्टै नेतृत्व प्रदान गर्ने र त्यसबारे सहमतिसाथ नै अगाडि बढ्ने कुराकानी भएको छ।
‘उहाँहरूबिच भातृ संस्थालाई नेतृत्व प्रदान गर्नेलगायत विषयमा कुराकानी भएको हो,’ कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भने, ‘पार्टीका विभिन्न विषयमा बेलाबेला संवाद हुने गरेको छ।’
गत मङ्सिरमा भएको काँग्रेस महाधिवेशनमा सभापति पदमा देउवा र कोइराला प्रतिस्पर्धामा उत्रिएका थिए।
सभापति जितेपछि देउवाले कोइरालासँग संवाद नगरेको भन्दै आलोचना भइरहेको थियो।
सभापति जितेपछि देउवा र कोइरालाबिच एक पटक भौतिक उपस्थितिमै कुराकानी र पटक पटक टेलिफोनमा कुराकानी भइरहेका छन्।
काँग्रेसले चैत ११ का लागि केन्द्रीय समिति बैठक पनि राखेको छ। उक्त बैठकबाट संसदीय बोर्ड गठनलगायत विषय टुङ्ग्याउने तयारी छ।