काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य ननसिंह महरले काँग्रेस जनताको मन जितेर मत जित्ने अभियानमा लागेको बताएका छन्। स्थानीय तहको निर्वाचन लक्षित पार्टीको एक महिने अभियानको पूर्व सन्ध्या कञ्चनपुरको महेन्द्रनगरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महरले यस्तो बताएका हुन्।
‘घरघर जाऔँ, काँग्रेस जिताऔँ’अभियानका लागि कञ्चनपुर पुगेका नेता महरले जनताको मन जित्न सके मत आफैँ प्राप्त हुने बताए । उनले काँग्रेसलाई जन–जनको, मन–मनको पार्टी बनाउनुपर्ने धारणा राखे ।
‘निःशुल्क स्वास्थ्य, शिक्षासँगै सर्वसुलभ यातायात, सञ्चार र उद्यमशीलता रोजगार, जनताको अधिकार, काँग्रेसको सरकारको नारा कार्यान्वयन गर्नतर्फ लाग्नु आजको प्रमुख आवश्यकता रहेको महरको भनाइ छ ।
‘हामी प्रत्येक वडामा पुगेर जनतालाई काँग्रेसले गरेका सकारात्मक कर्मका बारेमा जानकारी गराउने छौँ। हामी धेरै बोल्दैनौँ। भ्रमको खेती पनि गर्दैनौँ’ उनी भन्छन्, ‘काँग्रेस देशको जिम्मेवार पार्टी हो। त्यसैले जिम्मेवारी पूर्ण ढङ्गले अगाडि बढ्नुपर्छ। हाम्रा काम, कर्म र अभिव्यक्ति पनि जिम्मेवार हुनुपर्छ।’
महरले जनताको मन जित्न सके मात्रै नेपालमा लोकतन्त्र सुरक्षित हुने बताए। एमालेले गणतन्त्रको बाटो अङ्गालेर लोकतन्त्रको बाटो भुलेको महरको आरोप छ। त्यस्तै अन्य राजनीतिक दलहरूको अस्थिरतालाई पनि जनताले देखेकाले काँग्रेस नै विश्वासिलो पार्टी भएको उनले दाबी गरे।
जनताले दुई तिहाइका साथ विजयी गराए काँग्रेसलाई आफ्नो अभिभारा पुरा गर्न सहज हुने महरको भनाइ छ। ‘हामी मजदुरको घरमा पुग्नेछौँ। बुद्धिजीवीका बिचार सुन्ने छौँ। जनताका अपेक्षा सुन्ने छौँ। काँग्रेसका योजना सुनाउने छौँ। अब हामी जनतासँग हुने छौँ’ उनले भने।
राजनीति जनताका लागि गरिने भएकाले काँग्रेस जनताको घरदैलोमा पुग्न चाहेको महरको भनाइ छ। घरघर जाऔँ, काँग्रेस जिताऔँ अभियान अन्तर्गत केन्द्रीय नेताहरू ७७ वटै जिल्ला, ७ सय ५३ स्थानीय तह र ६ हजार ७ सय ४३ वटै वडामा पुग्ने भएका छन्।