‘कर्णाली उत्सव’को तेस्रो संस्करण आजदेखि सुर्खेतमा सुरु हुँदै « प्रशासन
Logo ३ भाद्र २०७९, शुक्रबार
   

‘कर्णाली उत्सव’को तेस्रो संस्करण आजदेखि सुर्खेतमा सुरु हुँदै


२७ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । कर्णाली उत्सवको तेस्रो संस्करण आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु हुँदैछ । २०७६ बाट सुरु भएको उक्त उत्सवलाई ‘कुडा कर्णालीका’ नारा दिएको छ ।

वीरेन्द्रनगरको प्रमुख पर्यटकीय स्थल बुलबुले उद्यानमा कार्यक्रम आयोजना गरिएको छ । आजदेखि फागुन २९ गतेसम्म चल्ने उत्सवमा यो पटक कर्णालीको आर्थिक समृद्धिसँग जोडिएका विषयमा रहेर विचार, विमर्श गरिने आयोजक संस्था ऋति फाउन्डेसनले जनाएको छ ।

यो पटकको कर्णाली उत्सवमा समसामयिक विषयमा १२ वटा सत्र सञ्चालन गरिने उत्सवका कार्यकारी निर्देशक दिनेश गौतमले जानकारी दिए । ‘यो विचारको उत्सव हो । उत्सव चल्ने अवधिभर १२ वटा सत्र सञ्चालन हुनेछन्,’ उनले भने ।

कार्यकारी निर्देशक गौतमका अनुसार यो पटक उत्सवमा पहिलो सत्र ‘कर्णाली भेरी सुसेल्दो छ’, दोस्रोमा ‘बजार विकास र हजार निकास’, तेस्रोमा ‘आरन अन्वेषण र आविष्कार’, चौथोमा ‘लगानीमा लगाम’, पाँचौँमा ‘झरो–उजेलोको खरो’, छैटौँमा ‘कर्णाली भेरी तीरै तीर भविष्यको पिर’ सत्र सञ्चालन हुनेछन् ।

सातौँमा ‘रैबारे र रैला’, आठौँमा ‘शून्य समय’, नवौँमा ‘वाद विवाद र संवाद’, दसौँमा ‘विकासको बाटो’, एघारौँमा ‘उमेरको उमङ्ग’ र बाह्रौँमा ‘कर्णाली चिन्तन (दिगो विकास र कर्णाली)’ शीर्षकमा सत्रहरू सञ्चालन गरिनेछ ।

पहिलो सत्र ‘कर्णाली भेरी सुसेल्दो छ’ मा गङ्गा केसी, प्रेमदेव गिरी, नन्दकृष्ण जोशी र विजया शर्मा वक्ताका रूपमा रहनेछन् भने डा. नवराज लम्सालले सत्रको सञ्चालन गर्ने आयोजकले जनाएको छ । त्यस्तै ‘बजार विकास र हजार निकासमा’ रेवती गुरुङ, वसन्त अधिकारी, जेबी चौधरी र सुरथ चौधरी सहभागी हुनेछन् ।

‘आरन, अन्वेषण र आविष्कार’मा महावीर पुन, सहवीर कामी, बिडी नेपाली, कविता पाण्डे वक्ता हुनेछन् भने विष्णु विवेकले सत्रको सहजीकरण गर्नेछन् । ‘लगानीमा लगाम’मा चन्द्र ढकाल, निरक केसी र तारा शाह वक्ता छन् भने गणेश कार्कीले सहजीकरण गर्ने छन् ।

महेश नेपालीले सहजीकरण गर्ने सत्र ‘झरो–उजेलोको खरो’मा गजेन्द्रबहादुर महत, कुलमान घिसिङ र निशा राना वक्ता छन् । ‘कर्णाली भेरी तीरै तीर भविष्यको पिर’ सत्रमा डा.सुदीप ठकुरी, डा. राधा वाग्ले, कृष्ण रोकाया र युवराज कार्की वक्ता रहेका छन् भने इन्द्र रावलले सहजीकरण गर्नेछन् ।

बिनु सुवेदीले सहजीकरण गर्ने ‘रैबारे र रैला’ सत्रमा डा। वैकुण्ठ अर्याल, युवराज घिमिरे, टीकाराम यात्री र दीपा कोइराला वक्ता छन् । यस्तै ‘शून्य समय’ सत्रमा कर्णाली प्रदेश सभा सदस्यहरू देवी ओली, सीता नेपाली र प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकी वक्ता छन् भने सत्रको सहजीकरण नारायण अधिकारीले गर्नेछन् ।

मन ऋषि धितालले सञ्चालन गर्ने ‘वाद विवाद र संवाद’ सत्रमा प्रतिनिधि सभा सदस्य तथा काँग्रेस महामन्त्री गगन थापा र सहरी विकास मन्त्री रामकुमारी झाँक्री वक्ता रहेका छन् । ‘विकासको बाटो’ सत्रमा डा.विमला राई पौडेल, कर्णाली प्रदेशका अर्थमन्त्री विन्दमान विष्ट, मधु मरासिनी वक्ताका रूपमा रहेका छन् ।

अन्तिम सत्र ‘उमेरको उमङ्ग’मा सुनिता रावल, पञ्चा सिंह, आरती लामा र पुनम भट्ट भट्टराई वक्ता रहेका छन् । कर्णाली चिन्तन सत्र डा.विश्व पौडेलले सञ्चालन गर्नेछन् ।

कर्णाली उत्सव अवधिभर तीन जना सफल÷प्रतिभा वान व्यक्तिको आत्मकथा (पैकलो) पनि प्रस्तुत गरिने आयोजक संस्थाले जनाएको छ ।

उत्सवको तेस्रो संस्करण सम्पन्न गर्न ५० लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजकले जनाएको छ । उत्सवको मुख्य प्रायोजक नेपाल राष्ट्र बैङ्क रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस