सरकारले अर्थतन्त्र ध्वस्त बनाउँदा पनि सबै चुपचाप लागेको ओलीको गुनासो « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सरकारले अर्थतन्त्र ध्वस्त बनाउँदा पनि सबै चुपचाप लागेको ओलीको गुनासो


२३ फाल्गुन २०७८, सोमबार


पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अर्थतन्त्र ध्वस्त बनाउँदा पनि सबै चुपचाप लागेको गुनासो गरेका छन् ।

सोमबार पोखरामा आयोजित कार्यक्रममा उनले सरकारले अर्थतन्त्र ध्वस्त बनाएको र परराष्ट्र सम्बन्ध पनि बिगारेको टिप्पणी गरे । उनले भने, ‘अहिले देशको अर्थतन्त्र यस्तो हुँदा, परराष्ट्र सम्बन्ध बिग्रिँदा चुपचाप छन् । मानिलिऊ केही बिग्रिएकै छैन ।’

आफू प्रधानमन्त्री हुँदा विरोधीले रुखबाट पात ओइलिएर झर्दा पनि विरोध गरेको ओलीले टिप्पणी गरे । ओलीले भने, ‘हामी सरकारमा भयौँ भने हाम्रा विरोधीले रुखबाट एउटा ओइलिएको पात झरे पनि यो सरकारको कमजोरीले रुखबाट पातहरू झर्न थाल्या छन्, चैतको महिनामा रुखहरू हेर त उजाड भएका भनेर उधुम मच्छाउँछन् ।’

सरकार संसदबाट बन्नुपर्ने भए पनि अहिलेको सरकार अदालतको आदेशमा बनेको ओलीले बताए । ओलीले भने, ‘पार्लियमेन्ट हो सरकार बनाउने थलो, त्यताबाट नसकेर मुद्दा जितेर सरकार ल्याउने भनेपछि डेमोक्रेसी किन चाहियो ? यो त सिमानाको झगडा भन्दा पनि मामुली भयो ।’

Tags :
प्रतिक्रिया दिनुहोस