पार्टीमा कुनै तिक्तता छैन : डा. कोइराला « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पार्टीमा कुनै तिक्तता छैन : डा. कोइराला


२१ फाल्गुन २०७८, शनिबार


विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली काँग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै तिक्तता नरहेको बताएका छन् ।

नेपाली काँग्रेस विराटनगर महानगरपालिका कार्यसमितिद्वारा आज यहाँ आयोजित वर्तमान अवस्थामा नेपाली काँग्रेसको भूमिका विषयक बृहत् सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले भने, ‘नेपाली काँग्रेस प्रतिपक्षमा रहँदा एउटा कुरा र सत्तामा जाँदा अर्को कुरा गर्ने पार्टी होइन, कठिन परिस्थितिमा बनेको गठबन्धन सरकार चलाउनलाई मात्र हो, आगामी चुनावसम्मका लागि होइन ।’

सिद्धान्त र विचार नमिल्ने कम्युनिस्टसँग तालमेल गरेर नेपाली काँग्रेस चुनावमा नजाने भन्दै केन्द्रीय सदस्य डा कोइरालाले काँग्रेस निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने जिकिर गरे । उनले काँग्रेस विधि मान्ने र न्याय गर्ने पार्टी भएकाले पार्टीमा सबैको सम्मानजनक स्थान हुनुपर्छ भन्दै पार्टी पारदर्शी, उत्तरदायी र जबाफदेही हुनुपर्नेमा जोड दिए ।

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले भावनात्मक एकता र व्यवहारले मात्र राष्ट्रवाद बलियो हुने भन्दै जनता विभाजित गरेर राष्ट्रवाद हुन नसक्ने तर्क गरे । उनले लोकसेवा उत्तीर्ण गर्ने राष्ट्रसेवक कर्मचारी र जनताबाट उत्तीर्ण भएको जनप्रतिनिधिले भ्रष्टाचारलाई रोक्नुपर्ने विचार व्यक्त गरे ।

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेसको १४औँ महाधिवेशनले एउटा तिथि बसालेको बताउँदै नेपाली काँग्रेस अर्ध वाचन र वाचन गरेर नेतृत्व छनोट गर्ने पार्टी नभएको जिकिर गरे । उनले एमसीसी देश र जनताकै हित छ, कुनै पनि ठाउँमा राष्ट्रघात नभएको प्रस्ट पार्दै आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएर छाड्ने कुरामा जोड दिए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री डा मीनेन्द्र रिजालले नेपाली काँग्रेस जहिले जनता र राष्ट्रका निम्ति अघि बढिरहेको बताए । काँग्रेस प्रदेश नं १ संसदीय दलका नेता एवं पार्टीका केन्द्रीय सदस्य राजीव कोइरालाले आम नागरिकको आस्था र विश्वास बोकेको काँग्रेस जनताको चाहनाअनुसार काम गर्नुपर्ने विचार व्यक्त गरे ।

सो कार्यक्रममा काँग्रेसका केन्द्रीय सरिता प्रसाईँ, अमृत अर्याल, नेपाली काँग्रेस मोरङका सभापति डिकबहादुर लिम्बू, नेता डा चन्द्र भण्डारी, काँग्रेस विराटनगर महानगर समितिका सभापति दीपक चापागाईँ, नेता गुरुराज घिमिरेलगायतले बोलेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस