एमसीसीमा द्वन्द्व सिर्जना गरेर राजनीति नगर्न ओलीको आग्रह « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

एमसीसीमा द्वन्द्व सिर्जना गरेर राजनीति नगर्न ओलीको आग्रह


१७ फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अमेरिकी सहयोग मिलीनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता संसद्बाट पास भइसकेकाले अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्ने बताएको छ ।

एमालेले एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्न आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमसीसीको पक्षमा आफ्नो धारणा सार्वजनिक गर्दै विदेशी सहायताको सम्झौता गर्नु अगाडि यथेष्ट ध्यान दिनुपर्नेमा सम्झौता नै गरिसकेपछि यसको कार्यान्वयनमा लाग्नुपर्ने बताएको हो ।

सो अवसरमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीलाई विकास परियोजनाका रूपमा लिनुपर्ने बताउँदै यसमा मतभेद, द्वन्द्व सिर्जना गरेर राजनीति नगर्न आग्रह गरे । एमसीसीको विरुद्धमा सडकमा कार्यकर्ता ओरालेर आन्दोलन गराउनु गलत भएको उनको भनाइ थियो ।

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष ओलीले तत्काल ताजा जनादेशका लागि सरकार जानुपर्ने बताउँदै लोकतन्त्र र संविधान रक्षाका लागि काँग्रेस र एमालेबिच छलफल भएको बताए । उनले लोकतन्त्रका लागि लड्दै आएको नेपाली काँग्रेस र एमालेबिच सहकार्य हुनुपर्नेसमेत बताए ।

उनले एमसीसी पास गर्दा आफूहरूलाई संसदीय प्रक्रियामा सहभागी हुने वातावरणसमेत नबनाई एमालेलाई पाखा लगाउने काम भएको आरोप लगाए । अध्यक्ष ओलीले प्रतिनिधिसभामा प्रस्तुत गरिएको एमसिसीको व्याख्यात्मक टिप्पणी भ्रमको खेती भएको आरोप लगाए ।

एमसीसी सम्झौता इन्डो प्यासिफिक रणनीति (आइपिएस)को अङ्ग हो भनेर हल्ला चलाइएको तथा आफ्नो सरकारले संसद्मा पेस गरेर गल्ती गर्‍यो भनिएको प्रसङ्ग उल्लेख गर्दै उनले तत्कालीन मन्त्री प्रदीप ज्ञवाली अमेरिका गएर यसलाई आइपिएको अङ्ग बनाइयो भनेर समेत हल्ला चलाइएको बताए । अध्यक्ष ओलीले भने, ‘अमेरिका भनिरहेको छ आइपिएको अङ्ग होइन । अहिले उहाँहरू पनि भन्नुहुन्छ आइपिएको अङ्ग होइन । व्याख्यात्मक घोषणामा पनि उनीहरूले होइन भनेका छन् । अनि ज्ञवालीले आइपिएको अङ्ग बनाएको भनेर कोलाहल किन गरेको ?’

Tags :
प्रतिक्रिया दिनुहोस