काठमाडौँ । जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउन काठमाडौँदेखि विश्वको अग्लो हिमाल सगरमाथाको आधार शिविर काला पत्थरसम्म पदयात्रा हुने भएको छ ।
यस वर्षको मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसमा काठमाडौँदेखि काला पत्थरसम्म विभिन्न क्षेत्रका ४० जना महिलाले १३ दिने पदयात्रा गर्ने भएका हुन् । ‘साथसाथै’ संस्थाको आयोजनामा हुने पदयात्राका क्रममा यही फागुन १७ गते महिला टोली आधार शिविरतर्फ प्रस्थान हुने कार्यक्रममा जानकारी दिइयो ।
कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले दिवसका अवसरमा परम्परागतभन्दा नौलो र उदाहरणीय कार्यक्रम हुन लागेकामा खुसी व्यक्त गर्दै यस कार्यक्रमबाट महिलाले देश र समाजका साथै जलवायु परिवर्तनका मुद्दामा पनि काम गर्न सक्छन् भन्ने कुरालाई स्थापित गर्ने बताइन् ।
उनले विश्व तापमानमा भएको वृद्धिले हिमालमा हिउँ पग्लिने क्रम बढेको उल्लेख गर्दै पदयात्राले वातावरणीय न्यायका लागि जलवायु परिवर्तनका असरविरुद्ध महिलाको आवाज प्रशंसनीय रहेको बताइन् । उनी पनि पदयात्रा अभियानमा सहभागी हुने आयोजक संस्थाले जनाएको छ ।
‘वुमन युनाइटेड फर कम्लाइमेट जस्टिस’ नाराका साथ विभिन्न क्षेत्रका प्रतिष्ठित महिलाहरू संयुक्त रूपमा पदयात्रा गर्दै आधार शिविरमा पुगेर विशेष कार्यक्रम गरिनेछ । तयारी अन्तिम चरणमा पुगेको र सोमबार १३ दिने पदयात्रा अभियानसहित टोली लुक्लातर्फ प्रस्थान गर्ने ‘साथसाथै’का अध्यक्ष प्रजिता कार्कीले जानकारी दिइन् ।
उनले भनिन्, “जलवायु परिवर्तनले खास गरी महिला जनजीवनमा पारेका प्रभाव र त्यसमा न्याय खोज्न गर्नुपर्ने पहलका बारेमा हामी सो क्षेत्रमा गम्भीर बहस गर्छौ । यस विषयमा गर्नुपर्ने काम तथा सुझाव समेटेर कालापत्थर महिला घोषणापत्र जारी गर्दैछौँ ।” जलवायु परिवर्तन जस्ता प्रकृतिले उब्जाएका ज्वलन्त समस्याका बारेमा विश्वव्यापी रूपमा ध्यानाकर्षण गराउने योजना पनि रहेको उनले बताइन्।
अध्यक्ष कार्कीले हिमाल पग्लिनेलगायत जलवायु परिवर्तनका असर विरुद्ध जुट्न ऐक्यबद्धताका लागि विश्वलाई सन्देश दिन कालापत्थरबाट महिला आवाज उठाउने बताउँदै आगामी दिनमा ‘साथसाथै’ को यो अभियान सातै प्रदेशमा पु¥आउने लक्ष्य रहेको जानकारी दिइन् ।
विश्वमा हरित ग्यास उत्सर्जनले तापमानमा आएको वृद्धिसँगै जलवायु परिवर्तनका विविध असर देखिने गरेका छन् । हरित ग्यास उत्सर्जनमा नेपालको भूमिका नगन्य भए पनि बढ्दो तापमान र जलवायु परिवर्तनका असरबाट नेपाल सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा रहेको छ ।
यो अभियान पदयात्रामा मात्र सीमित नभई जलवायु परिवर्तनले प्रभावित ठाउँ जान्न र उत्पन्न चुनौतीलाई न्यूनीकरण गर्न एकताबद्ध हुने, पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न योगदान पुग्ने, सो अवसरमा एकले अर्कालाई चिन्ने र घुलमिल हुने अवसर सिर्जना हुने आयोजकले जनाएको छ ।
पदयात्रा व्यवस्थापनको जिम्मेवारी लिएको एलिट एक्सिपिडका प्रबन्ध निर्देशक मिङ्मा डेविड शेर्पाले यात्रा गरिने काम र व्यवस्थापनबारे जानकारी गराउँदै पदयात्रामा गरिने प्रत्यक्ष भ्रमणले अनुपम दृश्य देखिने र भोगिने बताए । साथै उनले यस्ता पदयात्राले मुलुकका विभिन्न क्षेत्रमा आन्तरिक पर्यटन अभिवृद्धि हुने अपेक्षा व्यक्त गरे ।
सगरमाथा पदयात्रा अघि ‘साथसाथै’ ले अन्नपूर्ण आधार शिविर र मार्दी हिमाल क्षेत्रमा पदयात्रा सम्पन्न गरिसकेको जनाएको छ । पृथक् भौगोलिक अवस्था र विभिन्न उचाइमा अवस्थित पारिस्थितिक क्षेत्र, प्राकृतिक स्रोतमा आधारित जीविकोपार्जन, गरिबी, सीमान्तकृत समुदाय र न्यून क्षमताका कारण नेपाल विश्वकै सङ्कटापन्न र जोखिमयुक्त मुलुक मध्येमा पर्न गएको देखिन्छ ।