काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिनिधिसभामा प्रस्तुत मिलेनियम च्यालेन्ज कम्प्याक्ट(एमसीसी) अनुमोदनमा सहयोगका लागि आग्रह गरेका छन् ।
मङ्गलवार(आज) साँझ प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबिच प्रधानमन्त्री निवास बालुवाटारमा भएका भेटवार्ताका क्रममा देउवाले सो आग्रह गरेका हुन् ।
भेटका क्रममा प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनमा सहयोगका लागि आग्रह गरेको एक नेताले बताए ।
सो क्रममा एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीले विगत छ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरू पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पारेका थिए ।
भेटवार्तामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए ।