अहिलेका हाकिम त खत्तम रहेछन् ! « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

अहिलेका हाकिम त खत्तम रहेछन् !


३ फाल्गुन २०७८, मंगलबार


भर्खरै मात्र लोक सेवा आयोगबाट विभिन्न सेवा समूहका सयौँ शाखा अधिकृतको सिफारिस भयो । सिफारिस पश्चात् लगभग सबैले नियुक्ति लिएर आफ्नो सेवा समूह अनुसार पदस्थापन पनि भइसक्नु भएको छ ।

सिफारिस पश्चात् केही अधिकृतज्यूहरूले लोक सेवामा नाम निकाल्ने अति उत्कृष्ट टिप्सहरू पनि दिनुभएको छ । धेरै खोजेर पढ्नुपर्छ, समय मिलाएर पढ्नुपर्छ, ध्यान दिएर पढ्नुपर्छ, लगनशील हुनुपर्छ, धैर्यवान् हुनुपर्छ, समर्पित हुनुपर्छ, एक्स्ट्रा अर्डिनरी हुनुपर्छ, आउट स्ट्याण्डिङ हुनुपर्छ, समयलाई महत्त्व दिनुपर्छ,आदि आदि ।

र, यस्ता कुराहरू वर्षैपिच्छे विभिन्न प्रशासनिक व्यक्तित्वबाट सुन्दै आएका छौँ तर अचम्म किन लाग्छ भने यस्तो सबैथोक भोगेर सेवा प्रवेश गर्नेहरू आफ्नो पेशाप्रति किन ध्यान दिँदैनन् ? किन लगनशील हुँदैनन् ? किन समर्पित हुँदैनन् ? किन समयलाई महत्त्व दिँदैनन् ? किन एक्स्ट्रा अर्डिनरी हुँदैनन् ? किन आउट स्ट्याण्डिङ हुँदैनन् (अपवाद बाहेक) ?

लाग्ला, किन छैनौ ?

यदी भएको भए कर्मचारीतन्त्रमा यो हदसम्मको भद्रगोल हुन्थ्यो र ?

सेवा प्रवाहमा जनताको सधैँ गुनासो किन ? कर्मचारीप्रति जनताको दृष्टिकोण नकारात्मक किन ? विकास व्यवस्थापन अप्रभावकारी किन ?

सेवा प्रवेश गर्नेहरूले सार्वजनिक प्रशासनका नवीन मान्यताहरूदेखि लिएर सार्वजनिक प्रशासन र व्यक्तित्वमा हुने प्रतिबद्धता, तटस्थता, सदाचार, नैतिकता, इमानदारिता, व्यवसायीकता, अनुशासन जस्ता विषय पढ्नु नै भएको छ, बुझ्नु नै भएको छ । सेवामा छिरेपछि यी सब कुरा कता बिलाउँछन् खै ? कहाँ बिलाएका छन् भन्नुहोला ?

नबिलाएको भए कर्मचारीको मनोबल कता हरायो ? कार्यालय समय ११ बजे किन ? राजनीतिसँग जोडिएको दलबिशेष कर्मचारी सङ्गठन कसरी जन्मियो ? कार्यसम्पादनमा किन सधैँ प्रश्न चिन्ह ? वृत्ति प्रणाली किन व्यवस्थित नभएको ? उत्प्रेरणा खै ? भ्रष्टाचार सुचकांकमा सुधार किन छैन ? यी र यस्ता विषय केवल अधिकृत उत्तीर्ण गर्न या सेवा प्रवेश गर्नको निमित्त उत्तर पुस्तिकाका सजावट मात्र हुन् त ? सोच्नु पर्ने विषय बनेको छ ।

सेवा प्रवेश गर्दा जुन ऊर्जा रहन्छ त्यो ऊर्जा किन मर्छ ? झन् सेवामा प्रवेश गरेपछि तलब सुविधा, तालिम, बढुवा, नेतृत्व जस्ता वृत्ति विकासमा अनेकन् माध्यमहरू छन् जसले त्यो ऊर्जालाई झन् मलजल गरेर जीवन्त बनाइनु पर्ने होइन ? यो पश्न तपाईँहरूलाई नै ।

मानौँ तपाई कुनै कार्यालयको प्रमुख बन्नुभयो, कार्यालयमा अलि कानुन सम्मत चल्नु भयो, कडी कडाइ गर्नुभयो, सेवाग्राहीका पनि जायज माग मात्र सम्बोधन गर्नुभयो, त्यो स्थानका जनप्रतिनिधि तथा राजनीतिक दलको अनावश्यक दबाबलाई इन्कार गर्नुभयो, सार्वजनिक कोषको सदुपयोगमा सदाचारिता र नैतिकता देखाउनुभयो भने अब तपाई त्यहाँ गएको एक महिना पछि भन्न थाल्छन् ‘पहिलेकै हाकिम ठिक थिए, अहिलेका हाकिम त खत्तम रहेछन्’

अनि हाकिम परिवर्तन गर्ने कुरा हुन्छ र पावर तथा पहुँचको आधारमा सरुवा गराउँछन् आफू अनुकूल ल्याउँछन्, जो जे भने पनि एसम्यान बन्छ । काम गर्ने, विधि मान्ने खत्तम र विधि नमान्ने, काम सजिलै गर्ने चाही ठिक ? यो प्रसङ्ग किन उल्लेख गरेको भने जो सुकै हाकिम÷प्रशासनिक व्यक्तित्व परिवर्तन गरे पनि नियमसंगत विधिसंगत सदाचार र नैतिकता युक्त व्यक्ति आयो भने यो खत्तम र यो सही भन्ने कुरै आउँदैन ।

निष्कर्षमा के भन्न खोजेको हो भने वर्षैपिच्छे शाखा अधिकृतलगायत विभिन्न पद तथा सेवा समूहमा निजामती प्रशासन भनौँ या देशको प्रशासनिक क्षेत्रमा उम्दा उत्कृष्ट र आशालाग्दा प्रतिभाहरू भित्रिन्छन् तर किन प्रशासनिक क्षेत्रप्रतिको जनताको वितृष्णा झन् बढेको छ ?

तपाई सम्पूर्ण एक पटक जनताप्रति प्रतिबद्ध रहनुस्, देशप्रति प्रतिबद्ध रहनुस् र जे-जे पढेर सेवा प्रवेश गरियो त्यो व्यवहारमा लागू गर्नुस् । देशको प्रशासनिक क्षेत्र सुध्रिन समय लाग्दैन ।

प्रतिक्रिया दिनुहोस