पोर्चुगलको संसदीय निर्वाचनमा सत्तारुढ दल विजयी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पोर्चुगलको संसदीय निर्वाचनमा सत्तारुढ दल विजयी


१७ माघ २०७८, सोमबार


लिस्बन । पोर्चुगलमा भएको संसदीय निर्वाचनमा सत्तारुढ दल समाजवादी पार्टी नै विजयी भएको छ ।

प्रधानमन्त्री एन्टोनियो केस्टले नेतृत्व गरेको पार्टीले ९२.६ प्रतिशत मत गणना गर्दासम्म ४२.१ प्रतिशत पाएको निर्वाचन आयोगले जनाएको छ ।

अहिलेसम्मको नतिजाअनुसार अर्को पार्टीले जित्ने सम्भावना नरहेकाले त्यसैको जित सुनिश्चित भएको निर्वाचन आयोगले घोषणा गरेको हो ।

समाजवादी पार्टीलाई सामाजिक लोकतान्त्रिक पार्टीले पछ्याइरहेको पनि आयोगका अधिकारीले जनाएका छन् ।

आयोगले समाजवादी पार्टी नै विजयी हुने सुनिश्चित भएको घोषणा गरेपछि राष्ट्रपति मार्सेलो रेबेलो डे सौसाले नागरिकलाई बधाई दिएका छन् । उनले भनेका छन्, ‘यो निर्वाचन हाम्रा लागि विशेष अवसर थियो, हामीले कडा मेहनत गरेर यसलाई सदुपयोग गरेका छौँ, सबैभन्दा सानो उमेरदेखि सबैभन्दा वृद्धसम्मलाई अब अझ राम्रो हुने भएको छ ।’

तत्कालीन संसद्ले सरकारको बजेट प्रस्ताव पारित नगरेपछि गत नोभेम्बरमा राष्ट्रपति सौसाले संसद् विघटन गर्दै निर्वाचन घोषणा गरेका थिए । बजेट पारित गर्न गत अक्टोबर २७ मा संसद्मा मतदान भएको थियो ।

सत्तारुढ गठबन्धनमा रहेको वामपन्थी दलले सहयोग नगरेपछि बजेट पारित हुन सकेको थिएन । त्यसपछि सन् १९७४ अप्रिल २५ देखि अहिलेसम्म पोर्चुगलको इतिहासमा आठौँ पटक संसद् विघटन गरिएको हो ।

धेरैले कोभिड–१९ का महामारीबीच सम्पन्न अग्रिम निर्वाचनमा सत्तारुढ दललाई धक्का लाग्ने अनुमान गरे पनि मत परिणाम अनुमानभन्दा फरक आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस