रु डेढ करोडभन्दा बढी राजस्व सङ्कलन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रु डेढ करोडभन्दा बढी राजस्व सङ्कलन


१२ माघ २०७८, बुधबार


कर्णाली । कर्णाली प्रदेशमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको कारबाहीबाट रु डेढ करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ ।

चालु आर्थिक वर्षको पहिलो छ महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको कारबाहीबाट रु एक करोड ७१ लाख ९७ हजार ५०० राजस्व सङ्कलन भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

कर्णाली प्रदेशभर ट्राफिक नियम उल्लङ्घन गर्ने २० हजार ५०१ सवारी साधनलाई कारबाही गर्दा उक्त राजस्व सङ्कलन भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र सिंह खड्काले जानकारी दिए ।

त्यस्तै उक्त अवधिमा भन्सार छली गरी ल्याएको रु एक करोड ३४ हजार ५६४ बराबरको अवैध लत्ताकपडा, सुर्तीजन्य पदार्थ र खाद्यान्न बरामद गरिएको र सो कार्यमा संलग्न रहेको आरोपमा ११ जनालाई पक्राउ गरी अनुसन्धानका लागि राजस्व कार्यालय बाँकेमा पठाइएको प्रवक्ता खड्काले बताए । उनका अनुसार उक्त अवधिमा यो प्रदेशमा २०३ सवारी दुर्घटना हुँदा ११८ जनाको ज्यान गएको छ भने ५१५ घाइते भएका थिए ।

१४१ फरार प्रतिवादी पक्राउ: ७४ वर्ष कैद सजाय

चालु आर्थिक वर्षको पहिलो छ महिनामा कर्णाली प्रदेशमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १४१ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका १४१ प्रतिवादीबाट ७३ वर्ष ९ महिना २८ दिन कैद भुक्तान गर्नुपर्ने प्रहरी वरिष्ठ उपरीक्षक खड्काले जानकारी दिए । उनीहरुबाट रु १६ लाख १० हजार ८९० जरिवाना सङ्कलन गरिएको पनि उनले बताए ।

यसैगरी सो अवधिमा २२ हजार १९८ लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको, ११ स्थानबाट अवैध जुवातास खेल्ने ८४ व्यक्तिलाई पक्राउ गरी कारबाही गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै चालु आर्थिक वर्षको पहिलो छ महिनामा २४ नाल अवैध हातहतियारसहित १५ र लागूऔषध दुर्व्यसनी तथा अवैध कारोबार गर्ने ९० जनालाई पक्राउ गरी उनीहरुबाट ५९ ग्राम ३३३ मिलिग्राम ब्राउन सुगर, एक किलो २१३ ग्राम चरेस बरामद गरिएको छ ।

नदीजन्य तथा खानीजन्य प्राकृतिक स्रोतको गैरकानुनी उत्खनन तथा ओसारपसार गर्ने ५८ सवारी साधन र ५१ जनालाई नियन्त्रणमा लिई उनीहरुबाट कारबाहीस्वरुप रु दुई लाख ४० हजार ५७० राजस्व सङ्कलन गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

कार्यालयका अनुसार सो अवधिमा अवैध वन्यजन्तु तथा वन पैदावार चोरी–निकासीका क्रममा बरामद भएका २७३.६९ क्युफिट ओखेटोपहार, पाँच किलो ३०० ग्राम यार्सागुम्बा, चार/चार थान रेडपान्डाको छाला र कस्तुरीको बिना, एक थान सालकको खप्पर र सो कार्यमा संलग्न रहेको आरोपमा १८ जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार कार्यसम्पादनका आधारमा ३४८ लाई पुरस्कृत र १५८ जनालाई सजाय गरिएको छ ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विभिन्न जिल्लामा लागूऔषध, घरेलु हिंसा न्यूनीकरणका लागि सञ्चालन भएका तीन हजार ५७९ वटा जनचेतनामूलक कार्यक्रमबाट तीन लाख ४९ हजार ३७९ नागरिक लाभान्वित भएका छन् । सो अवधिमा २४५ थान सिसी टिभी जडान गरिएको बताउँदै प्रवक्ता खड्काले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस