जीप दुर्घटनामा ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जीप दुर्घटनामा ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग


१० माघ २०७८, सोमबार


दमौली । जीप दुर्घटनामा परी ज्यान गुमाएकाको परिवारलाई तनहुँको बन्दीपुर गाउँपालिकाले राहत प्रदान गरेको छ ।

गत पुस ३० गते बन्दीपुर गाउँपालिका–६ धरमपानी बाक्सेमा जीप दुर्घटनामा परी मृत्यु भएका ६ जनाको परिवारलाई गाउँपालिकाले आइतबार राहत प्रदान गरेको हो ।

गाउँपालिकाको बैठकको निर्णय अनुसार प्रति मृतक दश हजारका दरले ६० हजार राहत प्रदान गरिएको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, उपाध्यक्ष गुरुङ, वडाध्यक्ष सन्तबहादुर गुरुङ सहित जनप्रतिनिधिको टोली मृतकको घरमै पुगेर राहत प्रदान गरेको हो । ‘शोकको घडीमा स्थानीय सरकार जनताको साथमा छ भन्ने अनुभूति दिलाउन थोरै भएपनि राहत प्रदान गरेका हौ,’ उनले भने ।

जीप दुर्घटनामा परी बन्दीपुर गाउँपालिका–६ का ५३ वर्षीय हरि न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपाने, २४ वर्षीय रोशन गुरुङ, ९ महिने बालिका आरुबी थापा, ४८ वर्षीय सन्तबहादुर गुरुङ र ५० वर्षीया विममाया गुरुङको मृत्यु भएको थियो ।

जीप दुर्घटनाका चालकलाई कारवाही र मृतकका परिवारलाई उचित क्षतिपूर्ति पाउने माग सहित दुई दिनसम्म पीडितले शव बुझेका थिएनन् । दुर्घटनामा मृत्यु भएकाहरुलाई कानून बमोजिम पाउनुपर्ने राहत उपलब्ध गराउने र घाइतेको उपचार खर्च बेहोर्ने सहमति भएपछि पीडितले शव बुझेका थिए ।

त्यसबेला किरिया खर्च बापत प्रति मृतक ५० हजार प्रदान गरिएको थियो भने बाँकी जनही चार लाख ५० हजार २५ दिनभित्र उपलब्ध गराउने सहमति भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस