भोलिदेखि मौसममा सुधार हुने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

भोलिदेखि मौसममा सुधार हुने


६ माघ २०७८, बिहिबार


काठमाडौँ । पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उक्त प्रणालीको प्रभावले पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागका वरिष्ठ मौसमविद् वरुणा पौडेलले बताइन्। ‘सो मौसमी प्रणाली भोलिदेखि कमजोर हुँदै जाने भएकाले शुक्रबारबाट मौसममा सुधार हुनेछ’, उनले भनिन् ।

भोलि देशभर आंशिकदेखि सामान्यतया बदली रही हरेक प्रदेशका केही स्थानमा हल्का वर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

विभागले आगामी २४ घण्टाको लागि चेतावनी तथा परामर्श जारी गर्दै देशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

साथै देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले यसबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव ६ डिग्री र अधिकतम तापक्रम १८ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस एक दशमलव चार डिग्री र सबै भन्दा धेरै दिपायलको अधिकतम तापक्रम २२ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस