कर्णाली । कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी सुर्खेतमा ‘कर्णाली नागरिक अतिथि आवास गृह’ निर्माणको योजनाकार्य अघि बढाएको छ ।
राजधानी सुर्खेत उपत्यका बाहिरबाट उपचार गर्न आउने कर्णालीका नागरिकका लागि सस्तो र सहज बासका लागि सरकारले अतिथि आवास गृह निर्माणको योजना बनाएको हो । आवास गृह निर्माणका लागि चालु आव २०७८/७९ मा प्रदेश सरकारले रु पाँच करोड बजेट विनियोजन गरेको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए।
‘अतिथि आवास गृहको निर्माण वीरेन्द्रनगर नगरपालिकामार्फत अघि बढ्ने छ’, मुख्यमन्त्री शाहीले भने, ‘आवास गृह निर्माण भए विशेष गरी राजधानी सुर्खेत बाहिरबाट आउने नागरिकलाई आर्थिक व्ययभार कम गर्न सहयोग पुग्नेछ ।’ कर्णालीको विकटता र यहाँका नागरिकको स्वास्थ्योपचारमा सघाउ पुर्याउने उद्देश्यले आवास गृह निर्माण गर्न थालिएको उनले बताए।
शिक्षा विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक दीपा हमालले चालु आव २०७८/७९ मा विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण सुरु गरिने बताए। ‘आवास गृहको निर्माण चालु आर्थिक वर्षमै सम्पन्न हुन नसकेर बहुवर्षीय योजनामा जान सक्छ’, निर्देशक हमालले भने, ‘परियोजना प्रतिवेदन तयारपश्चात यसको क्षमता कति हो भन्ने थाहा हुन्छ ।’
उनका अनुसार अतिथि गृह निर्माणका लागि वीरेन्द्रनगर नगरपालिकाले वडा नं ६ सुर्खेतस्थित जग्गा छनोट गरेको छ ।
त्यस्तै वीरेन्द्रनगर नगरपालिकाको वडा नं २ स्थित उत्तरगङ्गामा रु एक करोडको लगानीमा क्रियापुत्री भवन निर्माण गर्न थालिएको उनले बताए । ती सबै काम कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा वीरेन्द्रनगर नगरपालिकामार्फत सम्पन्न हुने जनाइएको छ ।