डोटीमा ठेकेदारको लापरबाहीले विद्युत् विस्तारमा समस्या « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

डोटीमा ठेकेदारको लापरबाहीले विद्युत् विस्तारमा समस्या


४ माघ २०७८, मंगलबार


डोटी । जिल्लाको बडी केदार गाउँपालिका बत्तीमुनिको अँध्यारो भने जस्तै भएको छ ।

यहाँको वडा नं १ बिपीनगरस्थित कापडी गाडमा विद्युत् गृह निर्माण गरिए पनि अहिलेसम्म गाउँपालिकाका सबै वडामा विद्युत् विस्तार गर्न सकिएको छैन ।

बिजुली बत्ती अभावमा यहाँ सरकारी कामकाजदेखि स्थानीय वासीलाई समस्या भएको छ । नेपाल विद्युत् प्राधिकरणले पालिकामा राष्ट्रिय प्रसारणको विद्युत् सेवा विस्तारका लागि दुई वर्ष अघि बोलपत्र आह्वान गरेको थियो ।

अहिलेसम्म विद्युत् विस्तारको काम नहुँदा समस्या भएको स्थानीय रोजबहादुर कलेलले बताए । बिपी नगर बजारबाट गाउँपालिकासम्म विद्युत् विस्तारका लागि प्राधिकरणको दिपायल वितरण केन्द्रले बोलपत्र आह्वान गरेको थियो ।

कापडी गाडबाट निकालिएको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सो पालिकामा विद्युत् विस्तारका लागि भगवती कन्स्ट्रक्सन दिपायलले पोल र तार तान्ने ठेक्का पाएको थियो ।

अहिलेसम्म कामको सुरुआत हुन सकेको छैन । विद्युत् विस्तारको जिम्मा पाएको कम्पनीले भने समयमै विद्युत् प्राधिकरणबाट सामान नपाउँदा काममा ढिलाइ भएको जनाएको छ । पोल र तार जताततै फालिएका अवस्थामा छन् ।

कम्पनीले केही ठाउँमा पोल गाढेको भए पनि हाल ती ढलेको अवस्थामा रहेका स्थानीय उपेन्द्र धामीले बताए । उनले भने, ‘पोल ढलेका छन्, कतिपय ठाउँमा तार चुँडिएका छन् ।’ बिजुली नहुँदा कार्यालयको कामकाजमा बाधा पुगेको बडी केदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले जानकारी दिए ।

विद्युत् प्राधिकरण, दिपायलका प्रमुख राजेन्द्रलाल देवले तारको समस्याका कारण विद्युत् विस्तारको काम हुन नसकेको बताए । ‘तार उपलब्ध हुने बित्तिकै काम अघि बढ्छ’, उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस