नयाँ भेरिएन्टपछि सीमामा कडाइ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नयाँ भेरिएन्टपछि सीमामा कडाइ


२ माघ २०७८, आइतबार


कञ्चनपुर । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिम बढेसँगै पुर्नवास नगरपालिकासँग जोडिएका खुला सीमा नाकामा कडाइ गरिएको छ ।

छिमेकी मुलुक भारतमा दैनिक हजारौँको सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमित देखा परेपछि त्यसको असर नेपालमा पर्न सक्ने भन्दै सुरक्षा निकायले सीमा नाकामा कडाइ गरेको हो ।

खुला सीमा नाकाबाट भइरहेको आवतजावतलाई व्यवस्थित र सुरक्षित बनाउनका लागि नगरपालिकाअन्तर्गत डोके बजारबाहेक अन्य सबै नाका पूर्ण रुपले बन्द गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

डोके बजार सीमा नाकामा पनि उच्च सतर्कता अपनाउनुका साथै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अनुरोध गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज भट्टले बताए ।

उनका अनुसार डोकेबजारमा दैनिक रुपमा भारतबाट आउनेको सङ्ख्या धेरै भएका कारण त्यसलाई व्यवस्थित गर्न र स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालन गराउनका लागि थप सुरक्षाकर्मी उपलब्ध गराइदिनका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र सुदूरपश्चिम प्रदेश सरकारलाई अनुरोध गरिएको छ ।

डोकेबजारमा रहेको हेल्थ डेस्कमा नियमित रुपमा कोभिड– १९ को जाँच गर्दा देखिएका सङ्क्रमितमध्ये नगरपालिका क्षेत्रका सङ्क्रमितलाई आइसोलेसन र होम आइसोलेसनमा पुर्‍याउनका लागि नाकामै तयारी अवस्थामा एम्बुलेन्स राखिएको छ ।

सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुने गरी जुलुस, धर्ना भेला महोत्सव तथा सामाजिक तथा धार्मिक कार्य नगर्न नगराउनका लागि सूचनासमेत नगरपालिकाले जारी गरेको छ ।

कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन नेपाल सरकार कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी गरेको सम्पूर्ण निर्देशन पालना गर्ने गराउने तर्फ नगरपालिकाले आवश्यक कारबाही अगाडि बढाएको छ ।

नाकामा विदेशी नागरिकको आगमनमा विशेष निगरानी र सतर्कता अपनाइएको नगरपालिकाले जनाएको छ । ‘विदेशी नागरिकको आगमनलाई विशेष प्राथमिकताका साथ अनुगमन गर्ने गरिएको छ’, प्रमुख प्रशासकीय अधिकृत भट्टले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस