सत्यमोहन जोशीद्वारा पुरातात्त्विक एवं ऐतिहासिक संरचनाको अवलोकन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सत्यमोहन जोशीद्वारा पुरातात्त्विक एवं ऐतिहासिक संरचनाको अवलोकन


२८ पुस २०७८, बुधबार


भक्तपुर । शताब्दी पुरुष सत्यमोहन जोशीले मध्यपुरथिमि नगरपालिकाले निर्माण गरेको पुरातात्त्विक एवं ऐतिहासिक संरचनाको अवलोकन गरेका छन् ।

उनले नगरपालिकाले शङ्खधर चोकमा निर्माण गरेको शङ्खधर पार्कका पुरातात्त्विक एवं नवनिर्मित संरचनाको अवलोकन गरेका हुन् ।

उनलाई नगर प्रमुख मदनसुन्दर श्रेष्ठले शङ्खधर पार्कमा निर्माण भएका संरचनाबारेमा जानकारी गराएका थिए । फोहर फाल्ने डाँडो कसरी आकर्षक पार्कमा परिणत भयो भन्नेबारेमा जानकारी गराउँदै उनले यहाँको गुरुयोजना, अब बन्ने शङ्खधर साख्वाःको सालिक, शङ्खलगायतका संरचनाका विषयमा बताए ।

शङ्खधर पार्कमा निर्माण भएका ढुङ्गेधाराका बारेमा जानकारी लिँदै जोशीले जुनसुकै स्थानका ढुङ्गेधारासँग राजा भगिरथको कथासँग महादेव र गङ्गाको किस्सा जोडिएको बताए ।

उनले भने, ‘राजा भगिरथले कैलाशमा गएर महादेवको तपस्या गर्दै पितृ उद्धारका कार्य गर्न बर मागेपछि महादेवले आफ्नो शिरबाट गङ्गा बहाएपछि झरनाको रुपमा पानी बग्यो र त्यही पानी जहाँ जहाँ बगेर गयो त्यहाँ गङ्गाका रुपमा पुजियो ।’

जोशीले मध्यपुरथिमिको कला, संस्कृतिका साथै नेपालको महत्त्वपूर्ण कला संस्कृतिका बारेमा पनि चर्चा गरे । अवलोकनका क्रममा नगर प्रमुख श्रेष्ठसँगै मध्यपुरथिमिका पूर्व नगर प्रमुख एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, वडा नं ४ का वडाध्यक्ष कुमार श्रेष्ठले पनि शङ्खधर पार्कको महत्त्व र मध्यपुरथिमिमा जनप्रतिनिधि आएपछि भएको सम्पदा संरक्षण तथा विकासका बारेमा जानकारी गराए ।

Tags :
प्रतिक्रिया दिनुहोस