म्याग्दीको मङ्गलामा अस्पताल निर्माण गरिँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

म्याग्दीको मङ्गलामा अस्पताल निर्माण गरिँदै


२८ पुस २०७८, बुधबार


म्याग्दी । मङ्गला गाउँपालिका–५ हाँडेभिरमा पालिकास्तरीय अस्पतालको भवन निर्माण थालिएको छ ।

सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनानुसार मङ्गलाको केन्द्र बाबियाचौरसँगै रहेको हाँडेभिरमा भवन निर्माण हुन लागेको हो ।

मङ्गला गाउँपालिकाका इञ्जीनियर सुजन पौडेलले १० शय्या क्षमताको अस्पतालका लागि एक हजार १२४.६४ वर्गमिटर क्षेत्रफलमा दुई भवन निर्माण थालिएको जानकारी दिए ।

‘आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गतामैत्री भवन बनाउन लागिएको हो’, उनले भने, ‘आगामी २०८० असारसम्म भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।’

भवन निर्माणका लागि ओमबुद्ध इन्टरनेशनल कन्सट्रक्शन काठमाडौँसँग २०७८ असारमा नौ करोड ११ लाखमा ठेक्का सम्झौता गरिएको थियो । भवनको कूल १२ करोड ९७ लाखको लागत अनुमान गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाका अनुसार दुई भवनमा ३५ कोठा निर्माण गरिनेछन् । विसं २०७७ पुस १५ गते सो अस्पताल भवनको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले शिलान्यास गरेका थिए ।

अस्पतालका लागि अर्मन स्वास्थ्यचौकी परिसरमा तीन वर्षअघि आठ रोपनी जग्गा व्यवस्थापन गरिएको थियो । मङ्गलाका साथै म्याग्दीको अन्नपूर्ण र धवलागिरि गाउँपालिकाले पनि आधारभूत अस्पताल भवन निर्माण सुरु गरेका छन् ।

धवलागिरि गाउँपालिकाले ताकममा र अन्नपूर्ण गाउँपालिकाले वडा नं १ दोबामा अस्पताल निर्माण सुरु गरेका छन् । अस्पताल बनाउन सरकारले गत आवमा अन्नपूर्ण र धवलागिरि गाउँपालिकालाई ७०–७० लाख तथा रघुगङ्गा र मङ्गला गाउँपालिकालाई ८५–८५ लाख बजेट विनियोजन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस