स्वच्छ ऊर्जा प्रयोग गरौँ, ग्यास चुलो छोडौँ : मन्त्री भुसाल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

स्वच्छ ऊर्जा प्रयोग गरौँ, ग्यास चुलो छोडौँ : मन्त्री भुसाल


२२ पुस २०७८, बिहिबार


काभ्रेपलान्चोक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्वच्छ ऊर्जाको प्रयोगलाई प्राथमिकता दिन ग्यास चुलोलाई विद्युतीय चुलोले विस्थापन गर्ने सरकारले नीति लिएको बताएकी छन् ।

नेपाल सौर्य विद्युत् उत्पादक सङ्घको २१औँ वार्षिक साधारण सभालाई आज धुलिखेलमा सम्बोधन गर्दै मन्त्री भुसालले विद्युत् खपत गर्ने ठुला उद्योग स्थापनार्थ प्रोत्साहन गर्ने र विद्युतीय सवारीसाधनको प्रवर्द्धनदेखि हरेक क्षेत्रमा विद्युतीय उपकरण उपयोग गर्ने नीति अगाडि बढाएको बताइन्। सौर्य ऊर्जा उत्पादन गर्दा लागत कम हुने र समय कम लाग्ने भएकाले ऊर्जा सङ्कट समाधानका लागि सौर्य विद्युत् सहयोगी हुने उनको तर्क थियो ।

मन्त्री भुसालले भनिन्, ‘पछिल्लो समय ‘वान शन, वान वर्ल्ड, वान ग्रिड’ अवधारणाको विकास भएको छ । यसले सौर्य ऊर्जाको प्रयोगलाई अझ सहज बनाउँदै लैजाने छ ।’ नेपालमा पर्याप्त स्वच्छ पानीका स्रोत भए पनि त्यस्तो पानी विविध प्रयोजनका लागि उपयोग गर्नुपर्ने र व्यवस्थापनको चुनौती बढ्दै गएकाले सौर्य ऊर्जालाई नै व्यावहारिक बनाउँदै लैजानुपर्नेमा उनको जोड थियो ।

मन्त्री भुसालले परम्परागत ऊर्जा प्रयोगकै कारण जलवायु परिवर्तन हुँदा विश्व आक्रान्त भइरहेको उल्लेख गर्दै परम्परागत ऊर्जालाई विस्थापित गर्नुपर्ने आवश्यकता रहेको औँल्याइन् । नवीकरणीय ऊर्जा प्रवर्द्धनमा विश्व नै लागेको बताउँदै उनले नेपालले पनि त्यसको प्रयोगको नीतिलाई अवलम्बन गर्दै जानुपर्ने आवश्यकता छ भनिन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय विश्व सम्मेलन (कोप–२६)मा नेपालले गरेको प्रतिबद्धता पूरा गर्न नवीकरणीय ऊर्जा प्रवर्द्धन गर्न आवश्यक रहेको मन्त्री भुसालले उल्लेख गरिन् ।

सरकारले ऊर्जा सुरक्षाको दृष्टिकोणबाट मिश्रित ऊर्जा प्रणालीको नीति अपनाएको जानकारी दिँदै उनले दश प्रतिशत वैकल्पिक ऊर्जा सामेल गर्ने लक्ष्य लिइएको बताइन् । उनले भनिन्, ‘वैकल्पिक ऊर्जाअन्तर्गत मुख्यतः सोलार र हावाबाट उत्पादन हुने वायु ऊर्जा नै प्रमुख हुन् ।’ हाल ऊर्जा प्रणालीमा करिब दुई हजार १०० मेगावाट विद्युत् जडित क्षमता छ ।

दश प्रतिशतको नीतिले करिब २०० मेगावाट सौर्य विद्युत् जडान गर्न सकिने मन्त्री भुसालको विश्वास छ । हाल ११० मेगावाट बराबरका सौर्य आयोजनाले विद्युत् खरिदबिक्री सम्झौता(पिपिए) गरिसकेका छन् ।

तीमध्ये करिब ४० मेगावाट सञ्चालनमा आइसकेको छ । सरकारले घरेलु सौर्य प्रणाली, संस्थागत सौर्य प्रणाली र सौर्य चुलो तथा सौर्य ड्रायरजस्ता सौर्य तापीय प्रणालीको प्रवर्द्धन गर्दै आइरहेको उल्लेख गर्दै मन्त्री भुसालले ऊर्जामा पहुँच पुर्‍याउन र जनताको जीवनस्तरमाथि उठाउनका सौर्य ऊर्जाको विकासमा विशेष ध्यान दिइने बताइन् ।

मुलुकका ६ प्रदेशमा अर्ध जलाशय र जलाशययुक्त आयोजना विद्युत् प्राधिकरणमार्फत अगाडि बढाउन लागिएको जानकारी दिँदै उनले ऊर्जाको गुणस्तर र सुरक्षामा महत्त्वपूर्ण योगदान पुग्ने गरी त्यस्ता आयोजनाको पिपिएलाई प्राथमिकतामा राखेको बताइन् ।

सौर्य विद्युत् उत्पादकले आफ्नो उपभोक्तालाई गुणस्तरीय विद्युत् सुविधा उपलब्ध गराउने र विद्युतीय सुरक्षाका विषयमा जनचेतना फैलाउनेजस्ता जनताका आधारभूत विषयलाई विशेष प्राथमिकता दिनुपर्नेमा उनको जोड थियो । ‘ऊर्जा व्यापारबारे छिमेकी देशसँग छलफल चलाउँछौँ, नेपालमै सिँचाइका लागि निःशुल्क विद्युत् वितरण गर्नेबारे छलफल गर्ने योजना छ’ उनले भनिन् ।

सो अवसरमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानका कुलपति डा सुनिलबाबु श्रेष्ठले सबैले सौर्य ऊर्जाका विषयमा स्वीकार्य हुने गरी काम गर्न सुझाव दिए ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुदन अधिकारीले सरकारले नेपालका प्रयोग गर्न बाँकी ९२ प्रतिशत ऊर्जालाई कसरी उत्पादन गर्नेबारे योजना ल्याउन छलफलको आवश्यकता औँल्याए ।

कार्यक्रममा सङ्घका अध्यक्ष इन्द्र खनालले सरकार र निजी क्षेत्रसँग मिलेर नौ लाख ६१ हजार परिवार तथा विद्यालय, स्वास्थ्य संस्था गरी तीन हजार संस्थागत रुपमा सौर्य ऊर्जा पुर्‍याएको जानकारी दिए ।

नेपाल कृषि मेसिनरी सङ्घका अध्यक्ष खोजराज कटुवाल, सौर्य विद्युत् उत्पादक सङ्घका पूर्वअध्यक्षद्वय दीपकबहादुर शाही र उत्तम सिलवालले शुभकामना व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस