एमाले मात्र सच्चा कम्युनिष्ट : उपमहासचिव गुरुङ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमाले मात्र सच्चा कम्युनिष्ट : उपमहासचिव गुरुङ


१९ पुस २०७८, सोमबार


दमक । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमाले मात्र सच्चा कम्युनिष्ट भएको बताए का छन् । प्रेस चौतारी नेपाल झापाको नवौँ जिल्ला अधिवेशनको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्व राजनीति धुर्वीय शक्तिका रुपमा स्थापित हुँदै गएको र नेपालमा समेत त्यस्तै राजनीति अवस्था देखिँदै गएकाले अब समग्र कम्युनिष्टको नेतृत्व एमालेले मात्र गर्ने जिकिर गरे ।

उनले एमालेको विकल्पमा अरु कम्युनिष्ट समूह, गुटका रुपमा मात्र सीमित भएकाले पनि समग्र बृहत कम्युनिष्टलाई सङ्गठित गर्न सक्ने भनेको एमाले मात्र भएको धारणा राखे । उनले भने,’एमाले सक्कली कम्युनिष्ट हो, सक्कली कम्युनिष्टको पक्षमा देशभरि फेरि जनलहर आएको छ, जनताले चिनिसकेका छन्, कुन असली कम्युनिष्ट हो भनेर । ‘

अधिवेशन उद्घाटनमा एमाले झापाका इन्चार्जसमेत रहेका स्थायी कमिटी सदस्य अग्नि खरेल, एमाले प्रदेश कमिटीका इन्चार्ज देवराज घिमीरे, स्थायी कमिटी सदस्य तथा प्रदेश नं १ का सहइन्चार्ज हिक्कमत कार्की, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरी, प्रेस चौतारीका प्रदेश कमिटी इन्चार्ज लीलाराज भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए । करिब एक सय ५० पत्रकार तथा सञ्चारकर्मी सहभागी रहेको अधिवेशनको बन्दसत्रले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस