पार्टी र सरकारको काम सफलतापूर्वक सम्पन्न गर्छु : मन्त्री चौधरी « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

पार्टी र सरकारको काम सफलतापूर्वक सम्पन्न गर्छु : मन्त्री चौधरी


१४ पुस २०७८, बुधबार


काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले पार्टी र सरकारको काम सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीको १४औँ महाधिवेशनमा सहमहामन्त्री निर्वाचित भएका खानेपानी तथा सरसफाइमन्त्री चौधरीले आज लैनचौर ब्याङ्क्वेटमा आयोजना गरेको ‘धन्यवाद ज्ञापन’ कार्यक्रममा उनले आफूले पार्टी र सरकारको काम सफलतापूर्वक सम्पन्न गर्ने विश्वास दिलाए ।

‘तपाईहरूले मलाई जुन विश्वासका साथ पार्टीको सहमहामन्त्रीमा निर्वाचित गर्नुभएको छ र सरकारमा मन्त्रीका रूपमा पठाउनुभएको छ, त्यस अवसरलाई म खेर फाल्दिन’, उनले भने । मन्त्री चौधरीले पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौँमा ल्याएर काठमाडौँवासीलाई खुवाउने सपना देखेका उक्त सपनालाई आफूले अस्थायी रूपमा भए पनि पूरा गर्न लाग्ने बताए । खानेपानी जनताको मौलिक हक भएकाले यसलाई पूरा गर्ने दायित्व सरकारको भएको उनको भनाइ थियो ।

कांग्रेस नेता प्रदीप पौडेलले पार्टीभित्रको आन्तरिक लोकतन्त्र १४औँ महाधिवेशनले बलियो बनाएको बताए । ‘कांग्रेसको १४औँ महाधिवेशनमा पार्टीमा नीति र विचारभन्दा व्यक्तिको बीचमा प्रतिस्पर्धा भयो, जुन दुःखद कुरा हो’, उनले भने । पार्टीको आन्तरिक प्रतिस्पर्धामा हारजित हुन्छ महाधिवेशनमा विजेताले उपविजेतालाई सँगै लिएर अगाडि बढेमात्र पार्टी बलियो हुने उनको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य तारामान गुरुङले कांग्रेसको नयाँ नेतृत्वले पार्टीलाई अझै सशक्त र बलियो बनाएर अगाडि बढ्नुपर्ने बताए । अर्को केन्द्रीय सदस्य मञ्जु यादवले आगामी तीनै तहको निर्वाचनमा कांग्रेसलाई विजयी गर्नेगरी कांग्रेसले सङ्गठन अगाडि बढाउनुपर्ने धारणा राखेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस