एन्फा कार्यसमितिको बैठक पुस २२ मा बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एन्फा कार्यसमितिको बैठक पुस २२ मा बस्दै


१३ पुस २०७८, मंगलबार


काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को केन्द्रीय कार्यसमितिको बैठक पुस २२ गते बस्ने भएको छ। कार्यसमितिका एक सदस्यका अनुसार महासचिव इन्द्रमान तुलाधरले बैठकका लागि सोमबार पत्र पठाएका छन्।

यसअघि पुस १ मा तीन उपाध्यक्षसहित केन्द्रीय समितिका ७ जनाले बैठक बोलाउन माग गर्दै एन्फामा पत्र दर्ता गराएका थिए।

बैठक माग गर्नेमा वरिष्ठ उपाध्यक्ष पंकजब्रिकम नेम्बाङ, उपाध्यक्षहरू कृष्णबहादुर थापा र वीरबहादुर खड्का तथा सदस्यहरू किरण राई, दिनेश व्यन्जनकार, निरोज खड्गी र दावा लामा छन्।

९ महिनाभन्दा बढी समयसम्म एन्फा बैठक बस्न नसकेकाले पत्र दर्ता गराएको वरिष्ठ उपाध्यक्ष नेम्बाङको भनाइ थियो।

आगामी २०७९ वैशाखमा एन्फाको साधारण सभा र निर्वाचन गर्नुअघि जिल्ला, प्रदेश र केन्द्रको साधारण सभा र निर्वाचन सम्बन्धी कार्यतालिका लगायतको विषयमा छलफल गर्न भन्दै बैठक बोलाउन माग गरिएको थियो।

यस्तै जिल्ला लिग, प्रदेश लिग, ए, बी र सी डिभिजन लिग, राष्ट्रिय लिग सञ्चालन बारे छलफल गर्न र अन्य आवश्यक विषयहरूमा समेत छलफल गर्नको लागि अध्यक्षलाई पटकपटक अनुरोध गर्दा पनि बेवास्ता गरेकाले एन्फाको विधानको धारा ३७ को उपधारा २ बमोजिम कार्यसमिति बैठकको माग गरिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस