विदेश जाने श्रमिकलाई खोप उपलब्ध गराउन श्रममन्त्रीको आग्रह « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

विदेश जाने श्रमिकलाई खोप उपलब्ध गराउन श्रममन्त्रीको आग्रह


२ पुस २०७८, शुक्रबार


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले यहाँ स्थित अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम)का प्रमुख लोरेना ल्याण्डोसँग वैदेशिक रोजगारीमा जाने नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेका छन् ।

आईएओएम प्रमुखसँग हिजो (बिहीबार) आफ्नै कार्यकक्षमा भएको भेटमा वैदेशिक रोजगारीबाट नेपाल फर्केका नेपालीले सिकेको सीपको सदुपयोग र पुँजी परिचालनका लागि मन्त्रालयले गरेका प्रयासबारे जानकारी दिँदै उनले अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकले भोगेका समस्या समाधानका लागि आईओएम नेपालले गरेको योगदानको सराहना गरे ।

सुरक्षित आप्रवासन, अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकले सुरक्षित एवं मर्यादित काम पाउने, शोषणलगायत अवाञ्छित गतिविधि हुन नदिनेलगायत विषयमा रणनीतिक अवधारणा बनाएर मन्त्रालय र आईओएमबीच साझेदारी हुनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्री श्रेष्ठले नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको श्रम शक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई अधिकतम उपयोग गर्ने सरकारको नीति रहेको बताएका थिए ।

आईओएम प्रमुख ल्याण्डोले पनि विदेशमा रहेका नेपाली श्रमिकका समस्या समाधानमा सहजकर्ताको भूमिका निर्वाह गर्न, नीतिगत एवं प्राविधिक पक्षमा सुझाव दिन सङ्गठन तत्पर रहेको बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस