एकीकृत समाजवादी बैतडीका छ पालिकामा नेतृत्व चयन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एकीकृत समाजवादी बैतडीका छ पालिकामा नेतृत्व चयन


१८ मंसिर २०७८, शनिबार


बैतडी । नेकपा (एकीकृत समाजवादी)ले यहाँ सङ्गठन विस्तार अभियानलाई तीव्रता दिएको छ । जिल्लाका सबै स्थानीय तहमा कमिटी गठन गर्ने अभियानअन्तर्गत हालसम्म छ स्थानीय तहमा कमिटी गठन गरिएको नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष महादेव भट्टले जानकारी दिए ।

हालसम्म दोगडाकेदार, सुर्नया गाउँपालिका तथा पाटन, दशरथचन्द, मेलौली र पुर्चौंडी नगरपालिकामा पालिकास्तरीय कमिटी गठन गरिसकिएको जनाइएको छ । पाटनको अध्यक्षमा लोकेन्द्र विष्टसहित ५५ सदस्यीय, दोगडाकेदारमा लक्ष्मीदत्त जोशीको अध्यक्षतामा ५१, सुर्नयामा दिनेशप्रसाद भट्टको अध्यक्षतामा ६५, दशरथचन्दमा दिनेशसिंह ठगुन्नाको अध्यक्षतामा ७७, पुर्चौडीमा रमेश बोहराको अध्यक्षतामा ६१ र मेलौलीमा भीम भट्टको अध्यक्षतामा ६५ सदस्यीय कमिटी गठन गरिएको हो ।

गठन गरिएका सबै पालिकामा सर्वसम्मतरूपमा नेतृत्व चयन गरिएको र बाँकी रहेका पालिकामा पनि मङ्सिरभित्र नेतृत्व चयन गरिने सो पार्टीले जनाएको छ । एमालेसँग विभाजन भएपछि सो पार्टीले सङ्गठन विस्तारलाई तीव्रता दिएको छ । तीन महिनासम्म जारी रहने उक्त अभियानमा सबैस्तरमा कमिटी गठन गरिने जनाइएको छ । मङ्सिरमा सबै पालिकामा सङ्गठन विस्तार गरिने र त्यसपछि सङ्गठन सुदृढीकरणको कामलाई अगाडि बढाइने दशरथचन्द नगरपालिकाका अध्यक्ष दिनेश ठगुन्नाले बताए ।

एमाले रहँदा यसअघि रहेको समानान्तर जिल्ला कमिटी पनि एकीकृत समाजवादीमा समाहित गरिएको थियो । जिल्ला अध्यक्ष भट्ट रहेको १५१ सदस्यीय उक्त समानान्तर कमिटी समाजवादीमा समाहित गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस