काठमाडौँ । केन्द्रीय तथ्याङ्क विभागले आफ्नो गल्ती सच्याएको छ । राष्ट्रिय जनगणना २०७८ को मुख्य प्रश्नावलीको व्यक्तिगत खण्डको जनसाङ्ख्यिक विवरणको भाषाको नाम र कोड नंं ४३ मा वाम्बुले हुनु पर्नेमा याम्बुले भएको भन्दै सो सच्याएको हो ।
वाम्बुले राई समाजको ध्यानाकर्षण पछि विभागले सुधार गरी विवरण सङ्कलन गर्न प्रदेश तथा जिल्ला जनगणना कार्यालयहरूलाई पत्राचार गरेको छ ।
विभागले निर्माण गरेको मुख्य प्रश्नावलीको व्यक्तिगत खण्ड अन्तर्गत भाषाको नाम र कोड नं. ४३ मा वाम्बुले हुनुपनेृमा याम्बुले भई गम्भीर त्रुटि भई विशिष्ट पहिचान भएको वाम्बुले राई समुदाय मर्माहत भएको भन्दै तथ्याङ्क विभागको कार्यालयमा पुगी ध्यानाकर्षण पत्र बुझाएको थियो । साथै त्रुटि सच्याउन विभागलाई गरेको पटक पटकको आग्रहपछि पनि फिल्डमा पुगेका गणकहरूले सो अनुसार नसच्याएको भन्दै जनगणनामा सहभागी हुन गम्भीर समस्या भएको जनाएको थियो ।
राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्कले देशभरिमा वाम्बुले भाषा बोल्नेको सङ्ख्या १३ हजार चार सय ७० र वाम्बुले भाषाको कोड नं। ४३ रहेकोसमेत समाजले विभागलाई स्मरण गराएको थियो । किरात राई जातिभित्र २६ वटा भाषा बोल्ने समुदाय रहेको र त्यसमध्ये वाम्बुले राई जाति र वाम्बुले भाषा पनि एक भएको वाम्बुले राई समाजले जनाएको छ ।
सङ्घीयतापछिको पहिलो जनगणना भनिएअनुसार जे जेसरी हुनपर्थ्यो त्यो हुन नसकेको तथा विवरण सङ्कलनकै क्रममा पनि कमजोरी रहेको कुरा विभिन्न सञ्चारमाध्यमहरूबाट आई रहेका छन् । त्यति मात्रै होइन विभागले गरेका विज्ञापनहरू लक्षित वर्गका लागि नभई औपचारिकताका लागि मात्रै भएको र प्रश्नावलीहरूसमेत बोझिलो भएको आवाजसमेत उठी रहेको छ ।