डुङ्गा दुर्घटनामा बेपत्ता बालकको अवस्था अझै खुल्न सकेन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डुङ्गा दुर्घटनामा बेपत्ता बालकको अवस्था अझै खुल्न सकेन


२८ कार्तिक २०७८, आइतबार


बालक बेपत्ता

बैतडी । महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएका एक बालकको अवस्था अझै खुल्न सकेको छैन ।

गत कात्तिक १० गते शिवनाथ गाउँपालिका–१ स्थित महाकाली नदीको खाँडघाटमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएका शिवनाथ–१ कै आठ वर्षीय सन्दीप साउद बेपत्ता भएका थिए ।

बेपत्ता भएको सन्दीपको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

सन्दीपको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिनाका साथै भारतीय प्रहरीसँगसमेत सहयोग मागिए पनि सन्दीप अझै फेला परेका छैनन् ।

डुङ्गा चढेर भारततर्फ गइरहेका बेला कात्तिक १० गते दुर्घटना हुँदा शिवनाथ–१ कै १३ वर्षीया मीना साउदको भने मृत्यु भएको थियो । दुर्घटनामा परेर बेपत्ता भएकी मीना पनि कात्तिक ११ गते महाकाली नदीको पारी भारतमा मृत फेला परेकी थिइन् ।

उनको सोही दिन भारतमै आफन्तले अन्तेष्टी गरेका थिए । दश जना सवार डुङ्गा पल्टिँदा आठ जना पौडिन सफल भएका थिए ।

पूजाका लागि शिवनाथ आएका चक्रसिंह साउदको परिवार लामो समयदेखि भारतको पन्जाबमा बस्दै आएकाले कात्तिक १० गते भारत जान लागेका बेला डुङ्गा दुर्घटनामा परेको थियो ।

महाकाली नदीमा पुल नहुँदा तल्लो सोराडका स्थानीयवासी जोखिम मोलेर डुङ्गाबाट महाकाली नदी तर्दै आएका छन् ।

जिल्लाको शिवनाथ र पञ्चेश्वर गाउँपालिका भारतसँग जोडिएको छ । भारत आवतजावत गर्दा महाकाली नदीमा पुल नहुँदा डुङ्गाको सहायताले स्थानीयवासी वार पार गर्ने गर्दछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस