जनआन्दोलनको सर्वोच्च कमान्डर सिंहको १०७ औँ जन्मजयन्ती मनाइँदै « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

जनआन्दोलनको सर्वोच्च कमान्डर सिंहको १०७ औँ जन्मजयन्ती मनाइँदै


२४ कार्तिक २०७८, बुधबार


काठमाडौँ । प्रजातन्त्र पुनः स्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको १०७औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका उनी सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए । ऐतिहासिक सो जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा सिंहले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गरेका थिए ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका उनको २०५४ असोज २ गते निधन भएको हो । काठमाडौँको खानदानी परिवारमा जन्मिएका सिंहले विसं १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उनीलगायत नेतालाई तत्कालीन सरकारले जेल हाल्यो । विसं २००७ अघि नै भद्रगोल जेल फोडेर भाग्न सफल भएका जोशिला तन्नेरी गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय भएका थिए ।

जेलबाट भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । केही सहयोगीका साथ विसं २००३ मा स्थापित नेपाली राष्ट्रिय काँग्रेसलाई आजीवन जुझारु नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका छ ।

प्रजातन्त्र स्थापनाका लागि भएको विसं २००७ को क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगन्ज मोर्चामा सशस्त्र सङ्घर्ष गरे । देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बिपीका अनुयायी र सबैभन्दा ठुला समर्थकका रूपमा रहे । नेपाली काँग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशील भए ।

विसं २०१५ मा पहिलो निर्वाचनपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका गणेशमानले विसं २०१७ मा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दी गृहमा कारावास जीवन बिताए ।

विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे । विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरुद्ध सक्रिय रहे ।

तत्कालीन पञ्चायती सरकारले बिपीसँगै मृत्युदण्डको माग गरिएका आठ वटा मुद्दामा विशेष अदालतबाट सफाइ पाए । गणेशमानले विसं २०३६ को विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरे । बिपीको निधनपछि काँग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले विसं २०४२ को सत्याग्रह आन्दोलनको नेतृत्व गरे ।

विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारु व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको महत्त्वपूर्ण योगदान विसं २०४६ मा रह्यो । जनआन्दोलनका लागि कम्युनिस्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनका सर्वोच्च कमान्डर भई सबैको प्रिय बनेका हुन् ।

नेता सिंहलाई विसं २०१७ पुस १ गतेको ‘कु’पछि विसं २०२५ सम्म बिपी कोइरालासँगै सुन्दरीजल बन्दी गृहमा थुनिएको थियो । २०२५ मा जेलमुक्त भएपछि बिपीसँगै भारत निर्वासनमा गएका नेताहरुलाई २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै गिरफ्तार गरी सुन्दरीजल बन्दी गृहमा दोस्रो पटक थुनियो ।

विसं २०६१ भदौ २४ गते बन्दी गृहलाई बिपी सङ्ग्रहालयमा रुपान्तरण गरिएको थियो । गणेशमान जयन्तीका अवसरमा नेपाली काँग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक सङ्घसंस्थाले विभिन्न कार्यक्रम आयोजना गरी मनाउने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस