परिमार्जन नभइ एमसीसी अघि नबढाउने माओवादी केन्द्रको निर्णय « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

परिमार्जन नभइ एमसीसी अघि नबढाउने माओवादी केन्द्रको निर्णय


२३ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले संशोधन तथा परिमार्जन नभइ अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अघि नबढाउने निर्णय गरेको छ । आज (मंगलबार) बसेको स्थायी समिति बैठकमा एमसीसीको सम्बन्धमा राष्ट्रिय सहमती कायम नभइ र संशोधन तथा परिमार्जन नभइ अगाडि नबढाउने विषयमा छलफल भएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

उनले भने, ‘एमसीसीको विषयमा बाहिर जुन कन्फ्युजन भएको छ, हाम्रो पार्टी केही कुरा राष्ट्रिय सहमती कायम नभइकन, केही संशोधन, परिमार्जन नभइकन अगाडी नबढाउने भन्ने कुरा भा’छ । एमसीसीको कतिपय कुराहरु आपत्तिजनक छन् । केही कुरा परिमार्जन नभइकन र राष्ट्रिय सहमती, सबै दलको सहमत नभइकन अगाडि बढ्दैन ।’

यसअघि एमसिसीबारे सत्ता गठबन्धनका दुई शीर्ष नेता प्रचण्ड र शेरबहादुर देउवाको परस्पर विरोधी धारणा आएको थियो । स्कटल्यान्डको ग्लास्गोमा भएको जलवायु सम्मेलन कोप–२६मा सहभागी भई गत बिहीबार स्वदेश फर्केका प्रधानमन्त्री देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एमसिसी पास गर्ने भन्दै प्रचण्ड र आफूले हस्ताक्षर गरेर अमेरिकालाई पत्र पठाएको बताएका थिए। तर प्रचण्डले एमसिसी परियोजना पास गर्ने भनेर कुनै सहमति नबनेको दाबी गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस